टेलिकमले सित्तैमा वाइफाई सेवा दिने

काठमाण्डु टुडे २०७० मंसिर १५ गते १०:४७ मा प्रकाशित

nepal telecomकाठमाण्डु, १५ मंसिर– नेपाल टेलिकमले राजधानीलगायत मुलुकका विभिन्न स्थानमा करिब तीन महिनाका लागि निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने भएको छ ।

सामाजिक दायित्वअन्तर्गत टेलिकमले पहिलो चरणमा राजधानीका विभिन्न स्थानमा ‘हटस्पट’ जडान गरी पहिलो चरणमा तीन महिना निःशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको हो । टेलिकमले त्यसखालको सेवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु गरिसकेको छ भने वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महारजगञ्जलगायतका स्थानमा पनि सो सेवा उपलब्ध भइसकेको छ ।

यस्तै गङ्गालाल हृदय रोग केन्द्रमा पनि त्यसखालको सुविधा उपलब्ध गराउने तयारी गरिएको छ । टेलिकमले यस वर्ष मुलुकभर करिब ५०० स्थानमा हटस्पट जडान गरी वाइफाई सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । नागरिकको धेरै आवतजावत हुने स्थानमा पहिलो चरणमा त्यसखालको सेवा दिन लागिएको हो ।

टेलिकमका उपप्रबन्धक देवेन्द्र खतिवडाका अनुसार नागरिकको भेटवार्ता बढी हुने स्थानमा पहिलो चरणमा निःशुल्क वाइफाई सेवा प्रदान गरिने छ । टेलिकमले अस्पताल, रेष्टुराँ, विमानस्थल, पार्क सपिङ मल, बसपार्क पर्यटकको आवतजावत हुने स्थानमा त्यसखालको सेवा उपलब्ध गराउन लागेको हो ।

टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले सामाजिक दायित्व र कम्पनीको व्यापार विस्तार गर्ने ध्येयका साथ ग्राहकलाई यसखालको सुविधा दिन लागिएको बताउनुभयो । डाटा सेवाको पहुँच बढाउन यसखालको कार्यक्रम अगाडि सारिएको टेलिकमको भनाइ छ । राजधानीका अन्य स्थानमा पनि काठमाण्डु महानगरपालिकाको सहयोगमा त्यसखालको सेवा उपलब्ध गराइने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us