वार्ताका लागि पाकिस्तानी प्रधानमन्त्री काबुलमा

काठमाण्डु टुडे २०७० मंसिर १५ गते ९:५१ मा प्रकाशित

काबुल, १५ मङ्सिर–आउँदो वर्ष अफगानिस्तानबाट नेटोको सेना फर्कनुपूर्व शान्ति प्रक्रियालाई पुनः आरम्भ गर्न अफगान राष्ट्रपति हमिद करजईसँग वार्ताका लागि पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ शनिबार काबुल पुगेका छन । Pak PM with Afgan
मे महिनामा शासन सम्हालेपछि पाकिस्तानी प्रधानमन्त्री सरिफ अफगानिस्तानमा पहिलो पटक पुगेका हुन । अफगानिस्तानमा सन् २०१४ पछि कायम रहने अमेरिकी सैनिकको भूमिकाका विषयमा वासिङटनसँग सम्झौताका विषयमा राष्ट्रपति करजई विवादमा परेका छन ।
अफगानिस्तानमा सन् १९९६ देखि २००१ सम्म कट्टरपन्थी तालिवानले शासन गर्दा पाकिस्तानले समर्थन गरेको थियो र तालिवानका केही नेतालाई पाकिस्तानले शरण दिएको आरोप लगाइन्छ । यसैले अफगानिस्तानमा शान्ति स्थापना गर्न पाकिस्तानको महत्वपूर्ण भूमिका हुने ठानिएको छ ।
राष्ट्रपति करजईका कार्यालयका एक अधिकारीले पाकिस्तानी प्रधानमन्त्री सरिफ काबुल पुगेको र उनले राष्ट्रपतिसँग भेट गर्ने जानकारी दिए ।
पाकिस्तानी प्रधानमन्त्री सरिफले अफगान उच्च शान्ति परिषद्का सदस्यसँग पनि भेट गर्नेछन । यस परिषद्ले तालिवान विद्रोहीसँग वार्ता गर्न खोजेको छ जसले सन् २००१ देखि अमेरिकी नेतृत्वमा रहेको नेटो तथा अफगान सेनासँग युद्ध गरिरहेको छ ।
पाकिस्तानले हालै तालिवानका दोस्रो नेता मुल्लाह बरदरलाई रिहा गरिदिएको छ । काबुलले बरदरलाई लडाकूलाई वार्ताका टेबुलमा ल्याउनसक्ने महत्वपूर्ण नेताको रूपमा हेरेको छ ।
करजई आउँदो वर्ष पदमुक्त हुँदैछन र उनले अफगानिस्तानमा सन् २०१४ पछि पनि तालिम तथा आतङ्कवाद विरोधी अभियानका लागि केही अमेरिकी सैनिक रहने सम्झौतालाई रोकेर राखेका छन ।
अफगानिस्तानको लोया जिर्गाले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न राष्ट्रपति करजईलाई अधिकार दिए पनि उनले अन्तिम समयमा सर्तहरू राखेको वासिङटनले आरोप लगाएको छ ।
अफगान राष्ट्रपति करजई अमेरिकाको आलोचक छन । तालिवानले जुन महिनामा कतारमा सम्पर्क कार्यालय स्थापना गरेपछि अफगानिस्तानको शान्ति प्रक्रिया अवरुद्ध बनेको छ ।
अफगानिस्तानको भ्रमणपूर्व पाकिस्तानी विदेशमन्त्री ऐजाज अहमद चौधरीले दुबै नेताले शान्ति तथा मेलमिलापका विषयमा वार्ता गर्ने बताए । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us