
काठमाण्डु, १५ मङ्सिर–अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले सञ्चारमाध्यमले उठाएका आर्थिक र व्यावसायिक मुद्दालाई सरकारले गम्भीरताका साथ लिएको बताएका छन ।
नेपाल आर्थिक पत्रकार समाज(सेजन)को १६ आँै वार्षिक स्थापना दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा अर्थमन्त्री कोइरालाले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन सरकारले धेरै प्रयास गरेको र आर्थिक परिसूचक सकारात्मक रहेको बताए ।
उनले स्थानीय निकायको निर्वाचनका लागिसमेत सरकारले बजेटको व्यवस्था गरेको बताउँदै आगामी दिनमा बजेटमा उल्लेखित साझा आर्थिक विकासका एजेन्डालाई कार्यान्वयनमा ल्याउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।
सो अवसरमा अर्थमन्त्री कोइरालाले पत्रकार शिव सत्याल, लोकमणि राई र कमल पराजुलीलाई सेजन पत्रकारिता पुरस्कारबाट सम्मान गरेका थिए ।
नेपाल राष्ट्र बैंकका गर्भनर डा युवराज खतिवडाले परिपक्व आर्थिक समाचारले देशको अर्थतन्त्रलाई सही दिशामा लैजान प्रोत्साहन गरेको बताउँदै सबै सङ्घसंस्थाले प्रेसलाई सही सूचना प्रवाह गर्नुपर्ने बताए ।
कार्यक्रममा अर्थमन्त्री कोइराला र गर्भनर डा खतिवडाले संयुक्तरुपमा सेजनद्वारा प्रकाशित अर्थनीति नामक स्मारिकाको विमोचन गर्नुका साथै सेजनका पूर्वअध्यक्षलाई कदरपत्र वितरण गरेका थिए ।
अर्थसचिव शान्तराज सुवेदीले निर्वाचनमा करिब रु १२ अर्ब खर्च भएको भन्दै कात्तिक महिनासम्म चालु खर्च २६ प्रतिशत र पुँजीगत खर्च सात प्रतिशत भएको बताए ।
सेजनका अध्यक्ष विज्ञान अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्षद्वय भाष्करराज राजकर्णिकार, प्रदिपजङ्ग पाण्डे, नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष हरिभक्त शर्मा, नेपाल बैंकर सङ्घका अध्यक्ष राजनसिंह भण्डारीलगायतले नयाँ बन्ने सरकारले संविधान निर्माणका साथै आर्थिक विकासमा पनि जोडदिनुपर्ने, आर्थिक क्षेत्रमा सत्यतथ्य र जिम्मेवार समाचार सम्प्रेषण हुनुपर्ने, निजी क्षेत्रलाई प्रोत्साहन र लगानीको वातावरण अनुकूल बनाउने औद्योगिक र वाणिज्य नीति नयाँ सरकारले अवलम्बन गर्नुपर्ने धारणा राखेका थिए । रासस