अनुकूलनका लागि साढे चार करोड रुपैया

काठमाण्डु टुडे २०७० मंसिर १५ गते ६:२४ मा प्रकाशित

मुगु, १५ मङ्सिर–जलवायु परिवर्तनका कारण बढी प्रभावित हुन सक्ने जिल्लाका पाँच गाविसमा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमअन्र्तगत साढे चार करोड रुपैयाको लगानीमा स्थानीय अनुकूलन कार्यक्रम सञ्चालन हुने भएको छ ।
जिल्लाका रुगा, रोवा, माँग्री, जिमा र सुकाढीक गाविसमा जलवायु परिवर्तनले पार्न सक्ने असरलाई न्यूनीकरण गर्न कार्यक्रम सञ्चालन गरिने जिविस मुगुले जनाएको  छ । जलवायु परिवर्तनका कारण सङ्कटमा रहेका गाविसको पहिचान गरी सञ्चालन हुन लागेको स्थानीय अनुकूलन कार्यक्रमअन्तर्गत लैङ्गिक तालिम, महिला सशक्तीकरण, सामाजिक समावेशीकरण, क्षमता अभिवृद्धि, प्राकृतिक तथा जैविक विविधताको संरक्षण र  वैकल्पिक ऊर्जा प्रर्बद्धनका क्षेत्रमा कार्यक्रम लक्षित गरिने  स्थानीय अनुकूलन कार्यक्रम कार्यान्वयन  मुगुका कार्यक्रम अधिकृत दिनेश आचार्यले जानकारी दिए ।
बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग (डिएफआइडी) र युरोपेली सङ्घको आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घ विकास कार्यक्रमको प्राविधिक सहयोगमा सञ्चालन हुने कार्यक्रमको अवधि सन् २०१५ सम्म छ ।
पाँच गाविसका एक हजार ९९९ घर परिवार लाभान्वित हुने लक्ष्य लिइएको कार्यक्रम सञ्चालनका लागि स्थानीय गैरसरकारी संस्था छनोट गरी गाविसस्तरमा नै स्थानीय अनुकूलन समन्वय समितिसमेत गठन गरिने छ ।  नमुना परियोजनाका रुपमा सुरु भएको सो कार्यक्रम सुदूर र मध्यपश्चिमका १४  जिल्लामा सञ्चालन गर्न लागिएको र पछि देशका अन्य जिल्लामा समेत सञ्चालन हुने बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us