अनुदानबाट प्राप्त गहुँको बीउ नपाएको गुनासो

काठमाण्डु टुडे २०७० मंसिर १५ गते २:५६ मा प्रकाशित

काँकडभिट्टा (झापा), १५ मङ्सिर–कृषि विकास मन्त्रालयबाट अनुदानप्राप्त उन्नत जातको सुधारिएको गहुँको बीउ बेचबिखनका लागि आधिकारिक बिक्रेताबाट भनेजस्तो बीउ नपाएपछि  खजुरगाछीका किसानले गुनासो गरेका छन् ।
गहुँखेतीका लागि राम्रो मानिएको कात्तिक र मङ्सिर महिनामा खजुरगाछीमा रहेको आधिकारिक बिक्रेता स्वस्तिक कृषि भण्डार र भागवत कृषि भण्डारले किसानको रोजाइअनुसारको बीउ नदिएकामा तिनले गुनासो गरेका हुन् ।  खजुरगाछीका किसान  दिनेशप्रसाद सिंहले गहुँको बीउ लिन जाँदा बिक्रेताबाट गहुँको बीउ नै सकिएको जवाफ पाइएको बताए । उनले भारतीय व्यापारीले उन्नत जातको गहुँको बीउ दैनिक १०० बोराभन्दा बढी भारततर्फ लैजाने गरेका कारण आफूहरुले बीउ नपाएको  गुनासो गरे ।
भारतीय नाका हँुदै साइकलमा व्यापारीले लाँदै गरेको आठ बोरा गहुँको बीउ रोकेर खजुरगाछीका किसानले शुक्रबार विरोध जनाएका छन् ।  उनीहरुले गहुँको बीउ आफूहरुले नपाएसम्म भारततर्फ लान नदिने बताएका छन् ।  भागवत कृषि भण्डारका प्रोपाइटर भागवत ताजपुरियाले किसानसँग जग्गाको धनीपुर्जाको फोटोकपी लिएर सहज तरिकाबाट गहुँको बीउ किसानलाई वितरण गर्ने गरिएको जिकिर गरे ।
बिक्रेताबाट गहुँको बीउ नपाएपछि अन्य व्यापारीबाट दोब्बर मूल्य तिरेर किन्नुपरेको किसानको गुनासो छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us