आर्थिक विकासको काम गर्न निजी क्षेत्रको माग

काठमाण्डु टुडे २०७० मंसिर १४ गते ८:५० मा प्रकाशित

काठमाण्डु, १४ मङ्सिर–नेपाल उद्योग वाणिज्य महासङ्घले राजनीतिक दलले आर्थिक र विकासका क्षेत्रमा घोषणापत्रमा उल्लेख गरेको कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन माग गरेको छ ।

महासङ्घले आर्थिक क्षेत्रको विकासका लागि निजी क्षेत्रले गरेको सहयोग र समर्थनलाई राजनीतिक दलले आफ्नो घोषणापत्रमा प्राथमिकता दिएको स्मरण गराउँदै खासगरी पर्यटन, कृषि र  उर्जाको विकासमा घोषणापत्रमा दलले गरेको प्रतिबद्धताका आधारमा जनताले मत दिएकाले त्यसलाई मूर्तरुप दिनु जरुरी रहेको जनाएको छ ।
महासङ्घका अध्यक्ष सुरज वैद्यसहितको निजी क्षेत्रको टोलीले सबैभन्दा ठूलो दल काँग्रेसका सभापति सुशील कोइरालालाई शुक्रवार कोइराला निवास महाराजगन्जमा भेटेर उक्त माग गर्दा सो प्रत्युत्तत्तरमा नेता कोइरालाले एक वर्षभित्रमै संविधान बनाउने र निजी क्षेत्रको सहकार्यमा आर्थिक विकासको कामलाई अघि बढाउने विश्वास उद्योगी व्यवसायीलाई दिलाएका थिए ।
सो भेटपछि महासङ्घका अध्यक्ष वैद्यले काँग्रेस ठूलो पार्टी भएकामा निजी क्षेत्रकातर्फबाट बधाई दिँदै सो पार्टीको घोषणापत्रमा तीन वर्षमा विद्युत्भार कटौती हटाउने, पर्यटन, कृषि, उर्जाको विकास गर्नेलगायत आर्थिक र विकासका सन्दर्भमा उठाएका कुराका आधारमा जनताले मत दिएको स्मरण गराए । त्यही आधारमा आगामी दिनमा काम गर्न जरुरी हुने बिषय सभापति कोइराला समक्ष राखिएको बैद्यले बताए ।
सभापति कोइरालाले सरकार बनाएर अघि बढ्नुपर्ने भए पनि मूल काम भनेको संविधान बनाउने भएकाले त्यसमा ठूला साना दल सबैलाई समेटेर अघि बढ्ने विश्वास व्यवसायीसमक्ष राखेका थिए । “सरकार बनाउने महत्वपूर्ण कुरा हो तर त्यसभन्दा पनि अहिले संविधान बनाउने महत्वपूर्ण कुरा हो, त्यसको लागि सबैलाई समेटेर लैजाने प्रयास सुरु भएको छ,” भेटमा सभापति कोइरालाको भनाई उद्धृत गर्दै अध्यक्ष वैद्यले भने ।
सभापति कोइरालाले कलभर्ट, बाटोघाटो, खानेपानीलगायत जनताका दैनिक जीवनयापनका समस्या समाधान गरी आर्थिक क्षेत्र र विकासका काममा निजी क्षेत्रले विशेष ध्यान दिनुपर्ने र त्यसमा काँग्रेसका तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाएका थिए ।    निजी क्षेत्रले विभिन्न दलका नेतालाई भेटेर आप्mना  माग राख्ने भएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us