
भक्तपुर, १४ मंसिर–संविधानसभा निर्वाचनका कारण कामदार अभावले इँटाको उत्पादन घटेपछि मूल्य बढ्ने भएको छ ।
विगतका वर्षहरुमा मंसिरको पहिलो साताबाट नै इँटा उत्पादन सुरु हुन्थ्यो तर चुनावकालागि गाउँ गएका श्रमिकहरु भर्खरै काममा फर्किन थालेकाले इँटा उत्पादन नै ढिला हुने व्यवसायीको भनाइ छ ।
भक्तपुरमा ६२ वटा इँटाभट्टा सञ्चालनमा रहेका र ति भट्टामा अहिले ५० प्रतिशत कामदार मात्र आएकाले इँटा उत्पादनमा यस वर्ष ३० प्रतिशतसम्म कमी आउने सम्भावना रहेको भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष विश्वराम कवांले बताए । विगतमा पुस १ गतेसम्ममा सबै इँटाभट्टाले इँटा पोल्न आगो लगाइसक्ने गरेको भए पनि यस वर्ष भने पुस २० गतेबाट मात्र आगो लगाउन सुरु गरिने भएको छ ।
भक्तपुरमा विगतका वर्षदेखि नै इँटाको उत्पादन घटेको छ । भक्तपुरमा वर्षमा ५० करोडभन्दा बढी इँटा उत्पादन हँुदै आएकोमा गत वर्षदेखि उत्पादन घटेको र यस वर्ष करिब ३५ करोड मात्र मात्र इँटा उत्पादन हुने कवांको भनाइ छ ।
यहाँका इँटाभट्टालाई माटोको समेत अभाव भएको छ । विगतका वर्षमा इँटाभट्टा राखिएकै स्थानमा माटो पाइने गरेपनि अहिले माटोको अभाव भएपछि माटो खोज्दै टाढासम्म जानुपर्ने बाध्यता आएको छ । प्रत्येक भट्टामा इँटा बनाउने माटो नभएपछि विभिन्न गाउँमा गएर माटो ल्याउनुपर्ने, ससाना पहाडबाट माटो किनेर ल्याउनु पर्ने भएकाले पनि इँटाको लागत मूल्य बढेको व्यवसायीको भनाइ छ ।
विगत ६ वर्षदेखि नै माटोको समस्या देखिए पनि अहिले माटोको समस्या चरम रुपमा वृद्धि भएको इँटा व्यवासायी नवीन प्रजापतिले जानकारी दिए । भक्तपुरमा उत्पादित इँटा गुणस्तरीय मानिन्छन् । भक्तपुरमा १ नम्बरको इँटा आठ हजार ५०० र २ नम्बरको इँटा सात हजार ५०० मा १३ प्रतिशत भ्याट जोडेर बिक्री भइरहेको संघले जानकारी दिएको छ ।