‘आर्थिक उन्नति र समृद्धिको आधार पर्यटन’

काठमाण्डु टुडे २०७० मंसिर १४ गते २:५५ मा प्रकाशित

गोरखा, १४ मंसिर–एकीकृत नेकपा (माओवादी) का नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको आर्थिक उन्नति र समृद्धिका लागि पर्यटन विकासको विकल्प नभएको बताएका छन् । गोरखाजस्तो ऐतिहासिक जिल्लाको महत्व विश्वसामु चिनाउन नसकिएको भन्दै उनले पर्यटन विकासका लागि बनाइएका कार्ययोजना अब लागू गर्नुपर्नेमा जोड दिए ।

हालै सम्पन्न संविधानसभा निर्वाचनमा गोरखाबाट विजयी भएका नेता भट्टराईले मतदातालाई भेटेरै धन्यवाद दिने क्रममा गोरखा नगरपालिका, फिनाम, नारेश्वर, ताप्ले, अश्राङ, बोर्लाङ, बुङ्कोट, नामजुङ, घैरुङ, ताक्लुङलगायतका क्षेत्रमा पुगेर सो धारणा राखेका हुन् ।

डा. भट्टराईले आफ्नो गाविस खोप्लाङसमेत पुगेर स्थानीयसँग भेटघाट गरेका छन् । सरकारी र निजी क्षेत्र दुवैको लगानीमा जिल्लाको पर्यटन विकास गर्ने उनले प्रतिबद्धता जनाए । गोरखाका दरौंदी, बुढीगण्डकी, मस्र्याङ्दीलगायतका नदीका पानीबाट सिँचाइ व्यवस्था मिलाइ कृषिमा आधुनिकीकरण गर्न आफूले जोड दिने उनको प्रतिबद्धता थियो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटन उद्योग सञ्चालनका लागि आफूले पहल गर्ने उनको भनाइ थियो ।

डा. भट्टराईले गोरखाको विकासका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिएर पर्यटनलाई मुख्य कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । गोरखाकाली मन्दिर, गोरखनाथ गुफा, मनकामना मन्दिर, लखनथापा गुफा, बक्रेश्वर मन्दिर, कालीका मन्दिर, गोरखा दरबार, गोरखा सङ्ग्रहालय, बारपाक, लिगलिग, मनासलु, नारदपोखरी, रुवीनालालगायतका क्षेत्रको विश्वसामु परिचित गराउन नसकिएको भन्दै उनले आगामी दिनमा यी क्षेत्रका विकास र प्रचारका लागि आफू निरन्तर लाग्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us