लघुवित्त कार्यक्रम प्रभावकारी

काठमाण्डु टुडे २०७० मंसिर १४ गते २:४० मा प्रकाशित

अत्तरिया, १४ मंसिर– कैलालीमा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको लघुवित्त कार्यक्रम प्रभावकारी बन्दै गएको छ । लघुवित्त कार्यक्रममार्फत बिनाधितो कर्जा प्रवाह गरिएपछि यो कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

किसानले छ वर्षअघि लघुवित्त कार्यक्रम ल्याएपछि विपन्न वर्गका महिलाको आयआर्जनमा सुधार आएको छ । महिलाले लघुवित्त कार्यक्रममार्फत बिनाधितो ऋण लिएर कृषि तथा व्यापार व्यवसाय गर्दै आएको लघुवित्त कार्यक्रम प्रमुख पार्वती साउदले जानकारी दिइन् ।

महिला समूहहरुलाई बिनाधितो सहकारीले ऋण लगानी गर्ने भएपछि लघुवित्त कार्यक्रम लोकप्रिय मात्र होइन विपन्न महिलाका लागि बरदान सावित भएको छ । लघुवित्तबाट ऋण लिने महिलाहरुले पनि कार्यक्रमले आफूहरुको आर्थिक जीविकोपार्जनमा टेवा पुर्याएको बताएका छन् ।

विसं २०६४ देखि कैलालीमा सुरु गरिएको सो कार्यक्रमबाट १५ हजारभन्दा बढी महिला लाभान्वित भएका छन् । जिल्लाका आठ वटा गाविसमा शाखा रहेको लघुवित्त कार्यक्रम टीकापुर नगरपालिका र २९ गाविसमा लागू भइरहेको प्रमुख साउदले जानकारी दिइन् । बिनाधितो ऋण लिएका महिलाले गाउँमै उदाहरणीय काम गरेर आत्मनिर्भर बन्दै गइरहेका छन् । बङ्गुर, कुखुरा र गाईभैँसी पालनका साथै तरकारीखेती र घरेलु उत्पादनको व्यावसायिकरणमा लघुवित्त कार्यक्रम विशेष सहयोगी सिद्ध हु“दै गएको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जनाएको छ ।

एउटा समूहमा पाँच र एउटा केन्द्रमा ४०–५० जनासम्म महिला सदस्य रहने गर्दछन् । उनीहरुले बचत र ऋण माग समूहबाट नै गर्ने बताइएको छ । सहुलियत ब्याजदर रहेको सो कार्यक्रममार्पmत आयआर्जनबाहेक अरु क्षेत्रमा लगानी गरिँदैन ।

लघुवित्तमा रु दुई हजारदेखि रु एक लाखसम्म ऋण लगानी गरिँदै आएको संस्थाले जनाएको छ । सो सहकारीले लघुवित्त कार्यक्रममार्फत रु १५ करोड ६७ लाख २२ हजार लगानी गरेको छ भने रु पाँच करोड ९४ लाख ९४ हजार बचत गरेको जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us