वृद्धाश्रमलाई कुवेतका नेपालीको आर्थिक सहयोग

काठमाण्डु टुडे २०७० मंसिर १३ गते १६:१६ मा प्रकाशित

पोखरा, १३ मङ्सिर–रोजगारीको सिलसिलामा कुवेतमा रहेका नेपालीहरुको संस्था जनजागृति युवा समाजले पोखरा वृद्धाश्रमलाई रु ३५ हजार ७०० सहयोग गरेको छ ।
समाजका अध्यक्ष दीपक क्षेत्रीले पोखरा वृद्धाश्रमका अध्यक्ष वसन्त केशव पराजुलीले बिहिवार आयोजित एक समारोहमा सो रकम हस्तान्तरण गर्नुभयो । सो अवसरमा वृद्धवृद्धालाई बिस्कुटसमेत वितरण गरिएको थियो ।
स्थानीय आम्दानीको स्रोत नभएको सो संस्था स्वदेशी तथा विदेशी विभिन्न सङ्घसंस्था एवम् व्यक्तिको आर्थिक सहयोगमा सञ्चालन हुँदै आएको सो अवसरमा जानकारी दिइयो ।
समाजका विपन्न, असहाय तथा परिवारवाट अपहेलीत वृद्धवृद्धाहरुको संरक्षण गर्ने उद्देश्यले २०५३ सालमा स्थापित सो आश्रममा हाल ५२ जना वृद्धवृद्धा र १२ जना सेवकसेवीका रहेका छन् ।
वृद्धाश्रमका अध्यक्ष वसन्त केशव पराजुलीको अध्यक्षतामा भएको सो कार्यक्रममा जनजागृती युवा समाज कुवेतका अध्यक्ष दीपक क्षेत्री, सदस्य कृष्ण सुनार, सहयोगी पद्म न्यौपाने, बसन्त भण्डारी लगायतले समाज सेवाका वारेमा आफना धारणा व्यक्त गरेका थिए ।

दीपावली गर्नेक्रममा भएको आगलागीबाट घर तथा सम्पत्ति गुमाएर बिचल्लीमा परेका लफ्याङ–९ का कुलबहादुर कटवाललाई मञ्चले नगद रु ५० हजार १०५ आर्थिक सहयोग गरेको हो । आगलागीपछि आफन्तको घरमा आश्रय लिएर बसिरहेका कटवाल परिवारको दैनिक जीवनयापनका लागि आर्थिक सहयोग गरिएको मञ्चका सहकोषाध्यक्ष केशव ढुंगानाले बताए ।
रोजगारीका सिलसिलामा कुवेतमा कार्यरत नेपालीबाट चन्दा सङ्कलन गरी जम्मा भएको रकम बिहीबार कटवाललाई घरमै लगेर हस्तान्तरण गरिएको सहकोषाध्यक्ष ढुंगानाको भनाइ छ ।
दीपावली गर्नेक्रममा गत कात्तिक–१७ गते राति मैनबत्तीबाट सल्किएको आगलागीबाट कटवालको तीन तले घर, नगद रु ७० हजार, चार तोला सुन, एक थान ल्यापटप, टेलिभिजन, अन्न, लत्ताकपडा, घर बनाउनका लागि राखिएको रु चार लाख बराबरको काठ, २० थान कोरियन कम्मल, दुबईका लागि भिषासहितको पासपोर्ट र हवाई टिकट जल्दा रु २० लाख बराबरको क्षति भएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us