खानै-खानाको महोत्सव पोखरामा

काठमाण्डु टुडे २०७० मंसिर १३ गते १३:०४ मा प्रकाशित

pokhara city1पोखरा, १३ मंसिर– दोस्रो सिटी रेवान महोत्सव तथा फुड फेष्टिवल आजदेखि पोखराको प्रदर्शनी केन्द्रमा सुरु भएको छ । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएशनद्वारा यो महोत्सवको आयोजना गरिएको हो ।

कास्कीका चारवटै क्षेत्रबाट संविधानसभामा निर्वाचित सभासद्ले संयुक्तरुपमा परेवा उडाई महोत्सवको शुभारम्भ गरेका थिए । कास्की क्षेत्र नं १ देखि ४ सम्म निर्वाचित संविधानसभाका सदस्यहरु क्रमशः यज्ञबहादुर थापा, शारदा पौडेल, रवीन्द्र अधिकारी र सीता गिरीले एक वर्षभित्रै सामथ्र्य र बहुपहिचानसहितको लोकतान्त्रिक र गणतान्त्रिक संविधान दिने प्रतिबद्धता व्यक्त गर्दै पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

एसोसिएशनका अध्यक्ष केपी शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, नेपाल होटल व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष अमृत भुजेललगायतका वक्ताहरुले महोत्सवको महत्वबार प्रकाश पारेका थिए ।

महोत्सवमा १३० वटा स्टल रहने छन् । व्यवसाय  प्रयोजनका लागि  ११०, रेष्टुरेन्टका लागि १२ र विभिन्न सामाजिक सङ्घ, संस्था, सुरक्षा तथा स्वास्थ्य सम्वन्धी आठ वटा स्टल रहेका छन् । महोत्सवमा खुल्ला लोकदोहोरी गीत प्रतियोगिता, नृत्य प्रतियोगिता, उपभोग्य वस्तु, हास्य व्यंग्य  एवम् ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने छ ।

महोत्सव करिब दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सव सम्पन्न गर्न रु २७ लाख २० हजार खर्च लाग्ने र रु २९ लाख ७० हजार आम्दानी हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us