दुई लाख बढीको चिनी र विस्कुट बरामद

काठमाण्डु टुडे २०७० मंसिर १३ गते १०:११ मा प्रकाशित

महोत्तरी, १३ मंसिर– भारतबाट भन्सार छली ल्याइएको  रु दुई लाखभन्दा बढी मूल्यका किराना सामान महोत्तरी प्रहरीले आज सुन्दरपुरबाट बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय गौशालाबाट गएको गस्ती टोलीले सुन्दरपुर–८ स्थित बाटाबाट भन्सार छली नेपाल भित्र्याइएका पाँच क्विन्टल ५० किलो चिनी, १२ टिन र ५३ कार्टुन खानेतेल, २० कार्टुन बिस्कुटलगायत किराना सामान बरामद गरेको प्रहरी निरीक्षक दीपक गिरीले बताए ।

भारतबाट चोर बाटो हुँदै भन्सार छली गरेर नेपाल भित्र्याइएका ती सबै सामान ल्याउने व्यक्तिको समूहले प्रहरीलाई देखेपछि सामान छाडेर भागेको बताइएको छ । ती सामान इलाका प्रहरी कार्यालय गौशालाले आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय जलेश्वरमा बुझाएको छ  । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us