नेपाल र चीनबीच जहाज खरिद सम्झौता

काठमाण्डु टुडे २०७० मंसिर १३ गते ६:०५ मा प्रकाशित

planeकाठमाण्डु, १३ मंसिर–नेपाल र चीन सरकारबीच जहाज खरिद सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दुईवटा जहाज अनुदानमा र चारवटा ऋणबाट नेपाल ल्याउने सम्झौता भएको हो । अर्थमन्त्रालयमा भएको कार्यक्रममा अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदी र नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

चीन–नेपाल आर्थिक सहयोगअन्तर्गत चीनले १९ ‘सिट’को हार्विन वाई–१२ र ५८ सिटयुक्त एमए ६० विमान प्रदान गर्न लागेको हो । अनुदान स्वरुप प्राप्त हुने दुईवटा जहाजको मूल्य करिब २ अर्ब ९८ करोड छ । अन्य चारवटा जहाज खरिदकालागि भने चीनको एक्जीम बैंकले नेपाललाई सहुलियत ब्याजदरमा करिब तीन अर्ब ६१ करोड रुपैयाँ ऋण उपलब्ध गराउने छ । सो ऋणको ब्याज १.०५ प्रतिशत हुने छ । सो ऋण साँवा र ब्याज गरी १३ बर्षभित्र चुक्ता गर्नुपर्ने छ ।

अनुदानका दुईवटा जहाज तीन महिनाभित्रै नेपाल आउने बताइएको छ ।

लामो समयदेखि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम विमानविहीन भएपछि सरकारले गत कात्तिक १७ गते चीनसँग एकैपल्ट ६ वटा जहाज किन्ने निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us