चिनी मिल सञ्चालन नहुँदा उखु क्रसरमा

काठमाण्डु टुडे २०७० मंसिर १३ गते १:२० मा प्रकाशित

चन्द्रनिगाहपुर १३ मङ्सिर–रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल सञ्चालनमा ढिलाइ भएपछि उखु किसानले क्रसर उद्योगमा उखु बिक्री गर्न थालेका छन् ।
उखु काटेर अन्य बाली लगाउन ढिलो भइसकेको भन्दै किसानले क्रसर उद्योगमा उखु बेच्न थालेका हुन् । चिनी मिलले भन्दा कम रकम दिने भए पनि क्रसर उद्योगले समयमा नै नगद दिने भएका कारण क्रसर उद्योगमा उखु दिने गरेको किसानले बताएका छन् ।
जिल्लामा सञ्चालनमा रहेका १२ वटा क्रसर उद्योगले किसानलाई चिनी मिलले भन्दा एक क्विन्टलमा २०० रुपैयाँ कम दिने गरेका छन् । दुई साताअघि देखि किसानले उखु काट्न थालेका छन् । अहिले दैनिक एक क्विन्टल उखु क्रसिङ भइरहेको गढिमाई क्रसर उद्योगका सञ्चालक कृष्णनन्द साहले बताए ।
चिनी मिल सञ्चालनमा आउन अझै केही दिन लाग्ने श्रीराम सुगर मिलले जानकारी दिएको छ । किसानलाई मिलले समयमा नै उखुको रकम भुक्तानी नगर्दा क्रसरमा लगेर बिक्री गर्ने गरेको उखु उत्पादक सङ्घ रौतहटका अध्यक्ष जयनाथ यादवले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us