
काठमाण्डु,१३ मङ्सिर–सरकारले औद्योगिक नीति कार्यान्वयनका लागि औद्योगिक व्यवसाय ऐन ल्याउन लागेको छ ।
नेपाल हस्तकला महासङ्घको आयोजनामामा बुधवारदेखि सुरु भएको ११ औं हस्तकला मेला तथा नवौंँ प्रतियोगितात्मक हस्तकला प्रदर्शनीको उद्घाटन गर्दै उद्योग सचिव कृष्ण ज्ञवालीले नीति निर्माण भएको साढे तीन वर्षसम्म पनि नीति कार्यान्वयन नहुनु दुःखद हो भन्दै औद्योगिक ऐन नल्याउँदासम्म नीति कार्यान्वयन गर्न नसकिने बताए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यले हस्तकलाजन्य सामग्रीबाट देशले राम्रो फाइदा लिन सक्ने भएकाले यसको विकासका लागि सरकार लागिपरेको बताए । वाणिज्य तथा आपूर्ति सचिव माधवप्रसाद रेग्मीले व्यापार प्रवद्र्धनका लागि निजी क्षेत्रले क्षमताको विकास गर्नुपर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले निर्यातका लागि लगानी पर्याप्त छैन भन्दै व्यापार व्यवसाय प्रवद्र्वनका लागि अन्तराष्ट्रियस्तर तथा एसियालीस्तरको प्रदर्शनीस्थल हुनुपर्ने बताए ।
नेपाललाई हस्तकलाको सार्कस्तरीय व्यापारिक केन्द्रका रूपमा विकास गर्ने, हस्तकलाको आन्तरिक बजार विकास र निर्यात प्रवद्र्धनमा विशेष जोड दिने, नयाँ वस्तु विकास, डिजाइन तथा प्रविधि आदानप्रदान गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताइएको छ ।
मेलामा पस्मिना, धातुकला, चाँदीका गरगहना, हातेकागज, ऊनी, काष्ठकला, छाला जुत्ता तथा छालाजन्य, प्राकृतिक रेसा र थान्कालगायत सामान, तयारी पोसाक छन् । प्रतियोगितामा चीन, पाकिस्तान, बङ्गलादेश र ओमनका करिब ३० कक्ष छन् । रासस