दुई करोडको भारतीय आलु

काठमाण्डु टुडे २०७० मंसिर १२ गते ११:२९ मा प्रकाशित

potatoधनुषा, १२ मंसिर– सरकारले किसानलाई आलुको बीउ उपलब्ध नगराउँदा यहाँका व्यापारी भारतीय आलुको बीउ आयात गरी करिब रु दुई करोड बराबरको कारोबार गरेको छ ।

सरकारले किसानलाई अनुदानको आलुको बीउ उपलब्ध नगराएकाले यहाँका व्यापारीले किसानको मागलाई ध्यानमा राखी भारतबाट आलुको बीउ आयात गरी बिक्री गर्न थालेको हो । जनकपुर–६ पेढीया बजार आलुको मुख्य मन्डी भएकाले यहाँका व्यापारी हालसम्म करिब रु दुई करोड मूल्य बराबरको १५ हजार क्विन्टल भारतीय आलुको बीउ बिक्री गरी आर्थिक लाभ लिन सफल भएको छ ।

यस व्यवसायमा करिब थोक र खुद्रा गरी ७० जना व्यापारी संलग्न छन् भने करिब एकहजार मानिस यसको व्यापार गरी प्रत्यक्ष रुपमा लाभान्वित हुँदै आएको छन् । आलुको बीउ बिक्री हुने मुख्य समय कात्तिक मङ्सिर र पुस रहेकाले सो अवधिमा यहाँका व्यापारीले भारतको लखनऊ र कानपुरबाट गजरबा र लालगुलाब भन्ने उन्नत जातको आलुको बीउ आयात गरी बिक्री गर्ने गरेको जनकपुर आलु व्यवसायी सङ्घका अध्यक्ष अलाउद्दीनले राससलाई बताए ।

नेपालमा आलुको बीउ उपलब्ध नहुँदा यहाँका ७५ प्रतिशत किसान भारतबाट आयात भई आउने बीउमा निर्भर रहेको छ । अहिले आलु रोप्ने समय भएकाले महोत्तरीको भिट्ठामोड नाकाबाट दैनिक पाँच देखि सात ट्रक आलु जनकपुर भित्रिने गरेको छ । प्लान्ट क्वारेनटाइन चेकपोस्ट जलेश्वरको एक तथ्याङ्कअनुसार अघिल्लो आवमा २२ करोड सात लाख ३८ हजार ७३३ टन आलु भारतबाट आयात गरी जनकपुर भित्रिएको थियो ।

धनुषाका किसानले अघिल्लो आवमा पाँच हाजर ३२५ हेक्टर क्षेत्रफलमा आलुखेती गरेकामा ३० हजार २२५ टन आलु उत्पादन भएको थियो भने यसवर्ष पनि त्यत्तिकै क्षेत्रफलमा किसानले आलुखेती गर्ने अनुमान गरिएको छ । धनुषामा बालीले ढाकेको क्षेत्रफल उत्पादन र उत्पादकत्व घट्दै गएपछि किसान आलुको बीउका लागि छिमेकी मुलुक भारतमाथिको परनिर्भरता बढ्दै गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us