
खजुरा, १२ मंसिर । मध्यपश्चिमाञ्चलका १५ जिल्लामा ८२ हजार हेक्टर सिँचाइ योग्य जमिनमा अझैसम्म सिँचाइ सुविधा पुग्न सकेको छैन । सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेकाले आवश्यकता अनुसारको उब्जनी हुन नसकेको कृषकको गुनासो छ ।
मध्यपश्चिमाञ्चाल क्षेत्रको दुई लाख २३ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये एक लाख ४१ हजार हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको क्षेत्रीय सिँचाइ निर्देशनालयले जनाएको छ । सो कार्यालयका अनुसार सिँचाइ सुविधा पुग्नबाट वञ्चित ८२ हजार हेक्टरमध्ये करिब १० हजार हेक्टरमा तत्काल सिँचाइ सुविधा पु¥याउने कार्यक्रम सञ्चालन भइरहेको छ । सो कार्यक्रम आगामी वर्षसम्म पूरा हुने जनाइएको छ ।
मध्यपश्चिमका विभिन्न जिल्लामा उपयुक्त प्रविधि, ऊर्जाको अभाव तथा बिजुलीको समस्याका कारण ८२ हजार हेक्टर सिँचाइयोग्य जमिनमा सिँचाइ नपुगेको कार्यालयले जनाएको छ ।
देशको अन्य क्षेत्रको तुलनामा मध्यपश्चिमको कर्णाली अञ्चल सबैभन्दा पिछडिएको कारणले सो अञ्चलका पाँच जिल्ला सिँचाइबाट पूर्ण रुपले वञ्चित भएको पनि सो कार्यालयको भनाइ छ । गत वर्ष मात्र कर्णाली अञ्चलमा सिँचाइ कार्यालय खोलिएकाले अब भने सिँचाइका कार्यक्रम लागू गरिने भएको छ ।