भैँसीको समेत तस्करी

काठमाण्डु टुडे २०७० मंसिर ११ गते १०:४५ मा प्रकाशित

buffalo nepalअर्घाखाँची, ११ मंसिर– जिल्लाबाट हुने अवैध भैँसी तथा पाडी  निर्यातमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले स्थानीय जातको भैँसी जिल्ला बाहिर पठाउन रोक लागाएको छ ।

व्यापक मात्रामा भैँसीको निर्यात बढ्दै जान थालेपछि जिल्लामा भैँसीको लोप हुने अवस्था सिर्जना भएको छ । विगत केही वर्षदेखि जिल्लाका विभिन्न स्थानबाट विभिन्न जातका भैँसी र पाडी अवैधरुपमा निर्यात हुँदा सम्बन्धित पक्षले कुनै चासो दिएका थिएनन् ।

जिल्ला पशुसेवा कार्यालयका प्रमुख अमृतकुमार मास्केले कसैले अटेर गरी पुनः भैँसी निर्यात गरेमा हँदैसम्मको कारबाही गरिने बताए । मास्केले रातको समयमा भैँसी निर्यात हुने गरेको उल्लेख गर्दै भने, ‘रोक लगाए पनि विभिन्न नाकाबाट लैजान सक्छन्, सार्वजनिक सूचना पनि जारी भएको छ, अब पनि कसैले निर्यात गर्न खोज्छ भने उसलाई कडा कारबाही हुन्छ ।’

व्यापक रुपमा जनगुनासो बढ्न थाले पछि निर्यात रोक्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी भेषराज खनालले बताए । भैँसी व्यापारीले मासुका लागि थारा र दुहुना भँैसीसमेत गाउँ गाउँबाट खरिद गरी सहरमा लगेर बिक्री गर्न थालेपछि जिल्लामा भैँसीको अभाव हुन थालेको अर्घाखाँचीका भैँसीपालक कृषक तिलक आचार्यले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us