अनुदानको बीउमा पनि कालो बजारी

काठमाण्डु टुडे २०७० मंसिर १० गते ११:२९ मा प्रकाशित

wheat seedजनकपुरधाम, १० मंसिर । किसानलाई सरकारले उपलब्ध गराएको अनुदानको गहुँको बीउमा थोक बिक्रेताले कालो बजारी गरी बढी मूल्यमा बिक्री गरेको पाइएको छ ।

विशेष बाली उत्पादन कार्यक्रमअन्तर्गत सरकारले किसानलाई ३५ प्रतिशत अनुदानमा गहुँको बीउ उपलब्ध गराउँदै आएपनि धनुषाका अधिकृत बिक्रेताले कालो बजारी गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

‘अनुदानको गहुँको बीउमा कुनै स्थानमा अधिकृत बिक्रेताले बढी मूल्य लिएर बिक्री गरिरहेको सुनिन आएको छ ।’ जिल्ला कृषि विकास कार्यालयका निमित्त वरिष्ठ कृषि विकास अधिकृत विष्णुदेव यादवले भने ।

उनले कालोबजारी भएको गुनासो आउन थालेपछि अनुदानको बीउ सोझै राष्ट्रिय बीउबिजन कम्पनीको कार्यालयबाट खरिद गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । अधिकृत बिक्रेताले बढी मूल्य लिन थालेपछि किसान आफैँ सो कार्यालयमा उपस्थित भई बीउ किन्न लामबद्ध भएर बस्ने गरेका छन् ।

संस्थाको कार्यालयदेखि पक्की सडकसम्म बीउ बिक्री गर्न भ्याइनभ्याइ भएको बताइएको छ । गहुँको बीउ छर्ने समयमा केही जिल्लामा बढी मूल्य लिएर बीउ बेच्ने गरेको गुनासो गर्दै त्यस कार्यलाई निरुत्साहित गरी कम्पनीमार्फत सबै बीउ बिक्री गर्न किसानले माग गरेका छन् ।

राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेड जनकपुरले हालसम्म करिब रु ७३ लाख मूल्य बराबरको १३० टन गहुँको बीउ बिक्री गरिसकेको निमित्त प्रमुख रामबाबु महतोले जानकारी दिए । कम्पनीले विजय, गौतम, भृकुटीजस्ता उन्नत जातको गहुँको बीउ बिक्री गर्न थालेपछि किसान अनुदानको बीउतर्फ आकर्षित हुन थालेका छन् ।

सरकारले धनुषा, महोत्तरीका लागि यसवर्ष ४०० टन बीउ वितरण गर्ने लक्ष्य राखेको छ । संस्थानका अधिकृत र बिक्रेतामार्फत सो बीउ बिक्री गर्न सुरु गरेको थियो । कार्यालयले किसानलाई एकदुई बोरादेखि आठ बोरासम्म गहुँको बीउ दिने गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us