
काठमाण्डु, १० मंसिर । हस्तकला व्यवसायको प्रवद्र्धन गर्न ‘एघारौं हस्तकला व्यापार मेला तथा नवौं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी’ आयोजना हुने भएको छ ।
नेपाली कला र सँस्कृतिको जगेर्नासँगै विदेशी मुद्रा आर्जनमा महत्वपूर्ण भूमिका खेल्दै आएको हस्तकला व्यवसायको प्रवद्र्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजक नेपाल हस्तकला महासंघले जनाएको छ ।
बुधबारदेखि काठमाण्डुको भृकुटीमण्डपमा मेला शुरु हुने मेला चार दिनसम्म चल्ने छ । प्रदर्शनीमा नेपाललगायत चीन, पाकिस्तान, बङ्गलादेश र ओमनलगायत मुलुकको सहभागिता रहने बताइएको छ ।
प्रदर्शनीमा पेभिलियन प्रतियोगिता, हस्तकला प्रवद्र्घनसम्बन्धी गोष्ठी, विदेशी स्टलहरू मुख्य आकर्षणका रूपमा रहने छन् । प्रदर्शनीमा करिब २०० स्टल रहने छन् । अन्य मुलुकका लागि ३० वटा स्टलको व्यवस्था गरिएको छ । मेलामा पश्मिना, धातुकला, चाँदीका गरगहना, हाते कागज, ऊनी तथा फेल्टका सामग्रीलगायतका वस्तुको प्रदर्शनी तथा बिक्री गरिने छ ।
मेलामा प्रतियोगितात्मक हस्तकला प्रदर्शनीसमेत हुने महासङ्घका अध्यक्ष हेमरत्न शाक्यले जानकारी दिए ।