नतिजा निर्माणमा सरकारी संयन्त्रको भूमिका

काठमाण्डु टुडे २०७० मंसिर ९ गते ४:३१ मा प्रकाशित
Prakash-Chandra-Lohaniकाठमाण्डु, ९ मंसिर । मंसिर ४ मा संविधानसभाका लागि देशभर चुनाव सकियो । मेरो आफ्नै थानसिं गाविसमा मैले मतदान गरें । मतदानको वातावरण शान्तिपूर्ण थियो र सबैमा एक किसिमको सन्तोष थियो । भोलिपल्ट जिल्ला सदरमकाम विदुरमा म मतगणना गर्ने ठाउँमा जान तयार गर्दै थिएँ । त्यसैबेला एकजना शुभचिन्तक मित्र (राप्रपाबाहेकका अर्को पार्टीका) ले मसँग जरुरी र गोप्य कुरा भन्ने इच्छा गरे । हामी दुई मात्र भएपछि उनले भने, ‘डाक्टरसाब, तपाईं धेरै सोझो हुनुहुन्छ । मतगणनामा जानुअगाडि यो टेप सुन्नुस्, अनि आफ्नो निर्णय गर्नुहोस् ।’ उनको भनाइले म आश्चर्यमा परें । मैले भनें, ‘होइन त्यस्तो के कुरा हो, जसलाई मैले मतगणनामा जानुअगाडि सुन्नैपर्ने ?’ मेरा मित्रले भने, ‘म अरू केही भन्दिनँ, टेप सुन्नुस् अनि मतगणनामा जाने निर्णय गर्नुहोस् ।’ यति भन्दै उनी हिंडे ।

अडियो टेप सुनेपछि म छानाबाट खसेजस्तो भएँ । उक्त टेपमा लिखु गाविसमा गएका मतदान अधिकृत केशव तिमिल्सनाले लिखुलगायत थुप्रै गाविसमा कसरी ल्याप्चे लगाई मत बदर गर्नुका साथै अन्य मत कसरी प्रतिस्पर्धी पार्टीका पक्षमा पारियो भन्दै बडो हाँसोका साथ व्याख्या गरिरहेका थिए । यो १३ मिनेटको टेप ‘यूट्युब’ लगायत मेरो फेसबुकमा सुन्न सकिन्छ । यो टेप सुनेपछि एकछिन टाउको चिसो भएको मैले अनुभूति गरें । नेपाल सरकारका पदाधिकारीले मलाई हराउन र एउटा पार्टी विशेषलाई जिताउन कतिसम्म गरेका रहेछन् भन्ने स्पष्ट भयो । मैले तुरुन्त यो टेप एमालेका केशव पाण्डेलाई पनि सुनाएँ । उनी पनि छक्क परे । हामी दुवैले क्षेत्र नं. १ का निर्वाचन अधिकारीलाई भेट्यौं र निर्वाचनमा स्पष्ट धाँधली भएकाले मतगणना रोक्न अनुरोध गर्‍यौं । गम्भीर भएर टेप सुनेपछि उनले हाम्रो निवेदन पढे र भने, ‘मतपेटिका आइसकेपछि मैले मतगणना केन्द्रबाट रोक नभनुन्जेल गन्नैपर्छ । यद्यपि यो टेपमा सुनेको कुरा गम्भीर छ । म तपाईंहरूको निवेदन केन्द्रमा फ्याक्स गरेर पठाइदिन्छु र उहाँको निर्देशनअनुसार गर्छु । तपाईंहरूले पनि केन्द्रमै सम्पर्क राख्नु पनि हुन्छ ।’

मलाई पनि कुरा ठिकै लाग्यो । मैले यसबारे कुरा गर्न प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीजीलाई धेरैपटक फोन गरें । निलकण्ठजीजस्तो महत्त्वपूर्ण व्यक्तिले मजस्तो साधारण उम्मेदवारसँग कुरा गर्ने समय नपाउनु स्वाभाविकै थियो । केही नलागेर मैले आफ्ना सबै कुरा मोबाइलबाट सन्देश (एसएमएस) का रूपमा पठाएँ । तर कुनै प्रत्युत्तर आएन र राति १ बजे मतगणना सुरु गरियो । धाँधलीपूर्ण चुनाव र यसबारे जानकारी हुँदाहुँदै पनि निर्वाचन आयोगबाट देखाइएको रहस्यपूर्ण मौनताको परिवेशमा मैले मतगणनामा भाग लिनुको औचित्य देखिनँ र मतगणना बहिष्कार गरें । त्यसपछि एमाले र एमाओवादीका उम्मेदवारले पनि मतगणना बहिष्कार गर्नुभएछ ।

त्यो टेप कति सत्य हो ? प्रश्न उठ्न सक्छ । तर यसबारे मेरो भनाइ के छ भने टेपको जाँच गरी वैज्ञानिक तरिकाले सम्बन्धित मतदान अधिकृतको आवाज हो या होइन भन्ने यकिन गरियोस् । यो मेरो निर्वाचन आयोग र सरकारलाई चुनौती हो । तर मलाई के थाहा छ भने वर्तमान निर्वाचन आयोगको नेतृत्व र नेपाल सरकारसँग यो टेपबारे अनुसन्धान गर्ने नैतिक हिम्मत छैन । निर्देशित पुतलीजस्तै यी संस्थाहरू कसको स्वार्थमा काम गर्दै छन् भन्ने प्रश्न अब उठ्न थालेको छ । वास्तवमा धाँधली गर्ने अधिकारीले पदोन्नति पाए भने कुनै आश्चर्य हुने छैन ।

मतगणना बहिष्कार गरेपछि मलाई धेरै मत आउने मुख्य गाविसका साथीहरूलाई मैले बोलाएँ र मतदानपछि के गरियो भन्ने प्रश्न सोधें । मैले प्रत्यक्ष चुनावमा धेरैपटक भाग लिइसकेको छु र यसबारे मसँग धेरथोर अनुभव पनि छ । पञ्चायतकालदेखि बहुदलीय व्यवस्थासम्म मैले केन्द्रीय व्यवस्थापिकाको चुनाव कम्तीमा सातपटक बेहोरेको छु र जितेको छु । यसअघिका चुनावमा प्रत्येक ‘बुथ’ मा बेलुकी ५ बजे मतदान सकिएपछि प्रत्येक उपस्थित दलले आ-आफ्नो किसिमको लाहाछाप प्रत्येक मतपेटिका बाकसमा लगाउने गरिन्थ्यो । त्यसपछि मतपेटिकासँगै पार्टीका प्रतिनिधिहरू सदरमुकामसम्म प्रहरीसँगै जान्थे । सदरमुकाम पुगेपछि मतपेटिका राख्ने कोठाको झ्याल र ढोकाहरू बन्द गरी प्रत्येक झ्याल-ढोकामा लाहाछाप ‘सिल’ लगाइन्थ्यो । त्यसपछि मत राखेको कोठाबाहिर पार्टीका प्रतिनिधिहरू नेपाल सरकारका सुरक्षाकर्मीसँगै पहरा बस्थे । यो प्रक्रियाको उद्देश्य राज्यशक्तिको दुरुपयोग गरेर मतपेटिका फेर्ने, जित्नेलाई हराउने र हराउनेलाई जित्ने गराउन नसकियोस् भन्ने थियो ।

यसपटक यो सबै प्रक्रियाको ठाडो उल्लंघन भएको रहेछ । थुप्रै गाविसहरूमा प्रहरीले नभई सेनाले मतपेटिकाको जिम्मा लियो । जिम्मा लिनुअगाडि विभिन्न दलका प्रतिनिधिहरूले आ-आफ्नो हस्ताक्षरको लाहाछाप मतपेटिकामा लगाउन खोज्दा त्यो काम गर्न दिइएन । मतपेटिकासँगै हामीले सदरमुकाम जान पाउनुपर्छ भन्दा ‘धेरै कुरा नगर, नभए सबैलाई सुताइदिन्छु’ भन्ने धम्कीपूर्ण अभिव्यक्तिका कारण कुनै प्रतिनिधिले मतपेटिकासँगै जान पाएनन् । अझ अचम्मको कुरो के छ भने म राजनीतिमा लागेदेखि नै मलाई सबभन्दा बढी मत आउने गरेको मदानपुर गाविसको मतपेटिका बाटामा पर्ने सेनाको गणमा डेढ घन्टा राखियो । त्यहाँ किन राखियो या के गरियो भन्नेबारेमा कुनै पार्टी प्रतिनिधिलाई जानकारी दिइएन । वास्तवमा बाकस सेनाले लिएपछि पार्टीका प्रतिनिधिहरूको कामै बन्द भयो । निश्चित रूपमा हामीले धेरै कुरामा राज्यलाई विश्वास गर्नुपर्छ तर जनताको मतको संरक्षण गर्ने अधिकार खोस्न खोज्नु दुर्भाग्यपूर्ण हो ।

नेपाली सेना हाम्रो राष्ट्र र नेपाली जनताको स्वाभिमान र आत्मसम्मानको रक्षा गर्ने भरपर्दाे संस्था भन्ने हाम्रो मनमा छ । मेरो मनमा पनि त्यही विश्वास हो । तर, यसपटक मतपेटिका प्रहरीले लग्न पाएनन् । पार्टीका प्रतिनिधिहरूले मतपेटिकामा लाहाछाप लगाउन पाउने र सबै मतपेटिका मतदान केन्द्रसम्म पुर्‍याउने र त्यसको सुरक्षा पहरा दिन पाउने अधिकार निर्वाचन आयोग र नेपाली सेनाले जनताबाट खोस्नुपर्ने कारण के थियो ? मदानपुरका मेरा साथीहरू आँखामा आँसु राखेर भन्छन् : हामीले मत खसालेका छौं तर गन्दा हाम्रो मत कहाँ हरायो ? वर्तमान नेपाली राज्यको चरित्र र यसको परराष्ट्र सम्बन्ध तथा यसमा रहेको सेनाको भूमिकाबारे अब स्पष्ट रूपमा धेरै सोच्नुपर्ने र चिन्ता गर्नुपर्ने स्थिति सिर्जना भएको छ ।

नुवाकोटमा यो चुनावको घोषित नतिजाबारे मलाई व्यक्तिगत रूपमा चिन्ता छैन । अनैतिक जितको तेज धेरै रहँदैन । यस विषयमा एमाओवादीका अध्यक्ष प्रचण्डले उठाएका विभिन्न प्रश्नहरू हारेको पार्टीको मनस्थिति भनेर पन्छाउन मिल्दैन । साथै हाम्रो बढी सिट छ भनी एमाओवादीलाई न्यूनीकरण गर्न खोजे त्यो पनि देशका लागि दुर्भाग्यपूर्ण हुने मात्र नभई संविधानसमेत निर्माण हुने छैन । तर यो नतिजाको निर्माणमा सरकारी संयन्त्रको स्पष्ट भूमिका र सेनाको व्यवहारले थुप्रै गम्भीर प्रश्नहरू उठेका छन् ।

नुवाकोटमा मैले आफैं अनुभव गरेको यथार्थले के देखाउँछ भने छानिएका ठाउँहरूमा जनताको मतमा लाजै नमानी खेलवाडको सम्भावना स्पष्ट रूपमा अब नकार्न नसकिने भएको छ । निलकण्ठ उप्रेतीले नेतृत्व गरेको निर्वाचन आयोग र खिलराज रेग्मी सरकार यो काम कसको स्वार्थका लागि गर्न तम्सिएका हुन् ? प्रश्न संगीन रूपमा सबैका सामु रहेको छ । तर एउटा कुरा स्पष्ट छ- यी सबै हर्कतहरू नेपाली जनताका लागि र नेपाली राष्ट्रियताको संवर्द्धन र प्रवर्द्धनको लक्ष्यबाट प्रेरित भएका छैनन् । – कान्तिपुर दैनिकबाट

ardhakatti-sahitko-matpatra

फोटो : धनुषामा अर्धकट्टी सहितको मतपत्र

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us