निगममा दुई महिनाभित्र नयाँ जहाज

काठमाण्डु टुडे २०७० मंसिर ८ गते १२:१२ मा प्रकाशित

nepal-airlinesकाठमाण्डु, ८ मंसिर । लामो समयदेखि विमानविहीन भएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आगामी दुई महिनाभित्रमा दुईवटा नयाँ जहाज पाउने भएको छ ।

एउटामात्र विमानका कारण ठप्पप्रायः भएको निगमको आन्तरिक सेवालाई निरन्तरताका साथै विस्तार गर्ने उद्देश्यले सरकारले विगत पाँच वर्षदेखि गरेको अथक प्रयास अन्ततः सफल भएको छ । चीन र नेपालका वरिष्ठ सरकारी अधिकारीहरूबीच कैयौँ चरणमा काठमाडौँ र बेइजिङमा भएका उच्चस्तरीय वार्ताको फलस्वरुप चीनले दुई वटा विमान अनुदानस्वरुप सरकारलाई उपलब्ध गराउने विषयमा सहमति भएको हो ।

चीन–नेपाल आर्थिक सहयोगअन्तर्गत चीनले १९ ‘सिट’को हार्विन वाई–१२ र ५८ सिटयुक्त एमए ६० विमान प्रदान गर्न लागेको हो । अनुदानमा विमान उपलब्ध गराउनेसम्बन्धी द्विपक्षीय सम्झौतामा यसैसाता हस्ताक्षर हुँदैछ । उक्त सम्झौतामा नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताई र अर्थसचिव शान्तराज सुवेदीले हस्ताक्षर गर्नुहुने भएको छ । दुवै देशका सरकारले उहाँहरूलाई हालै उक्त अख्तियारी दिएका हुन् ।

चीनबाट सरकारले थप चारवटा विमान खरिदसमेत गर्ने भएको छ । यसैसाता चिनियाँ एग्जिम बैंकसँग सहुलियतमा ऋण लिएर ती विमान खरिद गरिने नेपाल वायुसेवा निगम सञ्चालक समितिका सदस्य एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्यालले राससलाई जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us