
काठमाण्डु, ७ मंसिर । संविधानसभा निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको बेला नेपाल टेलिकमको नेटवर्कमा कल तथा एसएमएस गर्नेको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि रहेको छ ।
तिहारलगत्तै निर्वाचन आएकाले टेलिकमको नेटवर्कमा सो सङ्ख्या उल्लेख्य बढेको टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले जानकारी दिए । संविधानसभा निर्वाचनको मिति मङ्सिर ४ गतेसम्म मतदाता मतदान गर्नका लागि जिल्ला–जिल्लामा गएका कारण काठमाण्डु उपत्यकाभन्दा काठमाण्डु बाहिर नेटवर्क व्यस्त रहेको प्रवक्ता प्रधानले बताए ।
मतपरिणाम आदानप्रदान गर्न मोबाइल फोन प्रयोगकर्ताले एसएमएस बढी गर्ने भएकाले पनि यस्तो देखिएको टेलिकमको बुझाइ छ । हाल टेलिकमको नेटवर्कमा दैनिक १४ देखि १५ लाख एसएमएस हुने गरेको छ । सामान्य समयमा दैनिक १० लाख एसएमएस हुने गरेको थियो ।
यस्तै मोबाइल फोन प्रयोगकर्ताले भने दसँै तिहारपछि निर्वाचनको दिन र हालसम्म समान्य समयमाभन्दा ३० प्रतिशत बढी कल गरेका छन् । निर्वाचनको मत परिणाम सार्वजनिक हुन थालेपछि पनि नेटवर्कको ट्राफिक समान्य समयभन्दा ३० प्रतिशतनै बढीरहेको प्रवक्ता प्रधानको भनाइ छ । यस्तै सिडिएमए नेटवर्कमा पनि फोन र एसएमएस गर्नेको सङ्ख्या समान्य समयमाभन्दा बढीरहेको छ ।