
वीरगन्ज, ६ मंसिर– सीमावर्ती भारतीय बजारसँग प्रतिस्पर्धा गर्न स्थानीय व्यापारीले मासिक करोडौँ रुपैया मूल्य बराबरको कपडा अवैधरुपमा भित्रिने गरेका छन् । सीमावर्ती भारतीय बजारको तुलनामा भन्सार महसुल, स्थानीय विकास शुल्क र मूल्य अभिवृद्धि कर लाग्ने गरेकाले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न यहाँ कपडाको चोरी पैठारी व्यापक हुने गरेका छ ।
वैध तरिकाबाट कपडा आयात गर्दा भारतीय सीमावर्ती बजारको तुलनामा यहाँ २५ देखि ३० प्रतिशत मूल्य बढी पर्न जान्छ । यसले गर्दा सीमावर्ती क्षेत्रका ग्राहकले नेपाली बजारमा भन्दा भारतीय बजारमा सामान खरिद गर्छन् । यस क्षेत्रमा खपत हुने कपडामध्ये आधाभन्दा बढी चोरी पैठारीबाट नै आउने गरेको अनुमान सम्बद्ध व्यवसायीको छ ।
हामीले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न अवैध आयात गर्नैपर्छ, एक व्यवसायीले भने, “खुल्ला सिमाना भएका कारण अवैध आयात गर्न त्यति अप्ठ्यारो परेको छैन ।” कपडालाई १० प्रतिशत क्यारिङग खर्च दिँदा भारतीय बजारबाट भनेको ठाउमा पुर्याइदिने गर्छन् ।
त्यसो गर्दा पक्राउ परेको खण्डमा आयातकर्ताले व्यहोर्नु पर्ने हुन्छ । हरेक वर्ष कपडाको भन्सार मूल्याङ्कन घटबढ हुने गरेकाले चोरी–पैठारी नियन्त्रण हुन नसकेको दाबी व्यवसायीको छ । एक थान कुर्था सुरुवाल आयात गर्दा २० प्रतिशत भन्सार महसुल, १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र डेढ प्रतिशत स्थानीय विकास शुल्क लाग्ने गर्दछ ।
यस हिसाबले भारतीय बजारको तुलनामा स्थानीय बजारमा एक जोर कुर्था सुरुवाल खरिद गर्दा झन्डै रु ३०० बढी पर्न जान्छ, कपडा व्यवसायी श्यामकिशोर पटेलले भने, “महगो भएका कारण सीमावर्ती क्षेत्रका ग्राहकले नेपाली बजारमा भन्दा भारतीय बजारमा कपडा खरिद गर्छन् ।” त्यसैले भारतीय बजार सङ्घसँग प्रतिस्पर्धा गर्न यहा“का व्यवसायीले कपडाको चोरी पैठारी गर्न बाध्य छन् ।
कपडामा लगाइएका राजस्व हटाउने हो भने कपडाको चोरी–पैठारी नियन्त्रण हुने दाबी उनको छ । कपडामा लगाइएको राजस्व कै कारण चोरी–पैठारी बढेको भन्सार कर्मचारी र संबद्ध व्यावसायीको दाबी छ । कपडाको चोरी–पैठारी नियन्त्रण गर्नेतर्फ भने राजस्व गस्ती, प्रहरी प्रशासन र राजस्व अनुसन्धान कार्यालयलगायतका जिम्मेवार निकाय मौन छन् ।
चोरी– पैठारी नियन्त्रण गर्ने जिम्मेवार निकायकै संरक्षणमा अवैध कारोबारले प्रोत्साहन पाएको हो, वीरगन्जका एक कपडा व्यापारीले भने, “व्यापारीसँग उनीहरुको मिलोमतो भएकाले नै कपडाको चोरी–पैठारी हुने गरेका छन् । यसरी चोरी–पैठारी भएका कपडा यहा“बाट काठमाडौँ, पोखरा, हेटाैडा र चितवनलगायत मुलुकका अन्य भागसम्म पुग्ने गरेको दाबी व्यावसायीको छ ।
सबैभन्दा बढी चोरी–पैठारी हुने कपडामा कुर्था सुरुवाल, रेडिमेट कपडा, साडी, सर्टिङ सुटिङ, सेन्थेटिक, तन्ना, गम्छा, धोती, कट्टु र गन्जीलगायतका रहेका छन् । यथार्थ तथ्याङ्क नभए पनि वीरगन्जलगायत बारा र पर्साका विभिन्न नाकाबाट वार्षिक झन्डै दुई अर्ब रुपैया“ मूल्य बराबरको कपडाको चोरी–पैठारी हुने गरेको अनुमान छ ।
भारतीय कपडाको कुर्था सेट, गन्जी कट्टु र रेडिमेट कपडामा भन्सार २० प्रतिशत, तन्ना, दरी र साडीमा १५ प्रतिशत, लुङ्गी र धोतीमा ५ प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र डेढ प्रतिशत स्थानीय विकास शुल्क तोकिएको छ ।