चुनावले रेडियोको बिक्री बढ्यो

काठमाण्डु टुडे २०७० मंसिर ६ गते १:३२ मा प्रकाशित

गौशाला, ६ मंसिर–महोत्तरी जिल्लामा साँझ ५ बजेबाट सुरु भएको संविधानसभा निर्वाचनको मतगणनाको परिणाम सुन्न सदरमुकाम जलेश्वरमा रेडियो किन्नेहरुको घुइँचो लागेको छ । जलेश्वरको साह क्यासेट हाउस, रेडियो हस्पिटल, शिव इलेक्ट्रोनिक्स, दुर्गा रेडियो मर्मत सेन्टर, प्रमोद रेडियो हाउस लगायतका पसलहरुमा जिल्लाका विभिन्न ६ वटै निर्वाचन क्षेत्रबाट आएका नेता, कार्यकर्ता, सहयोगी तथा सर्वसाधारणको रेडियो किन्न घुुइँचो लागेको हो ।

मतगणना परिणामबारे स्थानीय चारवटा रेडियोहरुले छिनछिनमै ब्रेकिङ न्युज दिइरहेका हुनाले जलेश्वरमा चारैतिर सबैको हातमा रेडियो देखिन थालेको छ । जलेश्वर दुर्गाचोकका शिव ट्रेडर्सका सञ्चालक कमलेश झाले दुई घण्टाभित्र आफूले ठूलासाना गरी १४ वटा रेडियो बिक्री गरिसकेको बताए ।

त्यस्तै मतगणना सुरु भएलगत्तै साह क्यासेट हाउसका सञ्चालक भोला साहले आफूले २५ भन्दा बढी रेडियो बिक्री गरेको बताए । रेडियो हस्पिटलका सञ्चालक मो.अकबरले पनि २० वटा जति रेडियो बिक्री गरेको जानकारी दिए ।

जलेश्वरका विभिन्न रेडियो पसलबाट करिब २०० रेडियो बिक्री भइसकेको तथा अझै रेडियो किन्नेहरुको घुइँचो पसलहरुमा रहेको देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us