कैदीहरुद्वारा भोट

काठमाण्डु टुडे २०७० मंसिर ४ गते ६:४६ मा प्रकाशित

जुम्ला, ४ मङ्सिर–अर्काे संविधानसभा सदस्यको निर्वाचन महत्वपूर्ण घडीमा अञ्चल कारागार जुम्लामा मतदान सम्पन्न भएको छ ।

कर्णाली अञ्चलका पाँच जिल्लामध्ये अञ्चल कारागार जुम्लामा मतदान  बिहान पौने ८ बजे सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले जानकारी दिए  । जुम्लामा ८५ स्थायी र चार अस्थायी मतदान केन्द्र छन् जसमा अञ्चल कारागार जुम्ला अस्थायी मतदान केन्द्रका रुपमा किटान गरिएको थियो । सो मतदान केन्द्रमा १९ कैदी, तीन सुरक्षाकर्मी र चार कर्मचारीले मतदान गरेको थिए ।

जुम्लाका अन्य ८८ मतदान केन्द्रमा शान्तिपूर्ण तवरबाट मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । त्यसको साथै सम्भावित खतराबाट मतदाता तथा मतदान प्रक्रियालाई स्वच्छ एवम् भयरहित बनाउन सुरक्षा अवस्था कडा पारिएको छ ।

नुवाकोट, ४ मंसिर । संविधानसभा सदस्य निर्वाचनको लागि जिल्ला कारागार नुवाकोटमा भएको मतदान कार्य सम्पन्न भएको छ । विदुरस्थित कारागारमा रहेका महिला र पुरुष कैदीबन्दीलाई मतदान गर्न तोकिएको कारागार मतदान केन्द्रबाट १४८ जनाले मतदान गरेका छन् ।

उनीहरु सबैले समानुपातिकका लागि मतदान गरेका हुन् । विभिन्न अभियोगमा बन्दी जीवन बिताइरहेका उनीहरुले आफ्नो मताधिकार प्रयोग गर्न पाएका छन् । कारागारमा रहेका दुई नाबालकबाहेक सबै मतदाताले मत खसालेका थिए । उक्त मतदान केन्द्रबाट तीन जना निर्वाचन कर्मचारीसहित १५१ मत खसेको मतदान अधिकृत रोमाकान्त काफ्लेले जानकारी दिनुभयो । जिल्लाभर शान्तिपूर्ण मतदान कार्य भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रा

त्यस्तै झापाको चन्द्रगढीस्थित अस्थायी मतदान केन्द्रमा अपराह्न १ बजे मतदान कार्य सम्पन्न भएको छ । उक्त कारागारका ४९८ पुरुष र ३७ महिला कैदीबन्दी गरी ५३५ कैदीबन्दीका साथै पाँच प्रहरी र तीन कर्मचारीसमेत गरी ५४३ जनाले मतदान गरेको मतदान अधिकृतले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us