जाडोका न्यानोले बजार लिँदै

काठमाण्डु टुडे २०७० मंसिर ३ गते १२:०८ मा प्रकाशित

jhapa_district_mapदमक– जाडोयाम सुरु भइसक्यो । न्यानो कपडासँगै सिरक–डसनाको व्यापार बढेको छ । बजारमा न्यानो कपडा किन्ने उपभोक्ताको चहलपहल बढेको छ ।

व्यापारीले गर्मीका लुगाफाटा कतिले थन्काएका छन् भने जाडोका कपडा सजावट गरिसकेका छन् । दमक बजारका शिवम् इन्टरप्राइजेजका व्यापारी शिव श्रेष्ठका अनुसार  विभिन्न खाले जाडोका कपडा बजारमा आइसकेका छन् । उनले मौसमी खाले लत्ताकपडाको बजार सुरु भइसकेको बताए ।

अघिल्लो वर्षभन्दा जाडो छिट्टै सुरु भएपछि कात्तिकमा नै जाडोका कपडा बजारमा आएको व्यापारी श्रेष्ठ बताउछन् । उनी भन्छन्, “जाडो छिट्टै सुरु भएपछि जाडोका कपडाको बिक्री सुरु भइसक्यो ।” दमकका अधिकांश व्यापारीले काठमाडौँदेखि विभिन्न जाडोका कपडा ल्याइसकेका छन् ।

दमकमा मात्र लाखौँ मूल्यका जाडोका लत्ताकपडा बिक्री हुने गरेको अनुमान छ । जाडोभरि ज्याकेट, स्विटर, डसना, सिरकको बिक्री अधिक हुने गरेको छ । अधिकांश ज्याकेट चीनको उत्पादित लत्ताकपडाले बजार ढाकेको पाइन्छ । त्यसबाहेक तेस्रो मुलुकका थोरै मात्र लत्ताकपडाले बजार ओगटेको व्यापारीको भनाइ छ ।

धरान, इटहरीजस्ता पूर्वका ठूला बजारको पिछा गर्दै यहाँको बजारले आकार लिँदै आएको छ । इटहरी–धरान ब्रान्डेड लत्ताकपडाका लागि गन्तव्य मानिन्छ । झापाका कयौँ उपभोक्ता ती ठाउँमा पुगेर आफूले चाहिने ‘ब्रान्डेड क्वालिटी’का लत्ताकपडा खरिद गर्ने गर्छन् ।

लखनपुरकी पवित्रा राई धरानसम्म पुगेर ब्रान्डेड कपडा किन्ने गरेको स्वीर्कानु हुन्छ । धरानमा समुन्द्रपारका महँगा र स्तरीय कपडा पाइने ती क्षेत्रमा आफूले लत्ताकपडा किन्ने गरेकी बताउछन् । उनले भने, “धरान अलिक फेसेनेबल ठाउँ भएकाले होला खोजे जस्तै कपडा पाइन्छन् ।”

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us