बन्दले लाखौं मूल्यको तरकारी नोक्सान

काठमाण्डु टुडे २०७० मंसिर ३ गते ३:०२ मा प्रकाशित

बर्दिवास, ३ मंसिर–लगातार एक सातादेखिको यातायात बन्दले महोत्तरी जिल्लामा उत्पादित लाखौं मूल्यको तरकारी नोक्सान भएको छ । खेतबारीको तरकारी टिपेर बजार पुर्‍याउने चाँजो यातायात बन्दले नमिलेपछि बोटमै बुढिने र कुहिने क्रम बढेको किसानले बताएका हुन् ।

गत कात्तिक २५ गतेदेखि नेकपा–माओवादीसहितको मोर्चाले गरेको बन्द आह्वानले यातायात साधन नचल्दा तरकारी बजार पु¥याउन नपाएको किसानको गुनासो छ । अहिले जिल्लाका कृषि बजारमा हरियो तरकारीको माग निकै बढे पनि बन्दकै कारण आफूहरुको उत्पादन बजारमा पुग्न नसकेको पशुपतिनगर–२ का तरकारी उत्पादक किसान ब्रह्मदेव महतोले बताए ।

प्रत्येक दुई दिनको पालोमा टिप्नुपर्ने परबल, बोडी, घिरौंला, भन्टासहितका हरियो तरकारी बजार पु¥याउने अवस्था नभएपछि बोटमै बुढिने (छिप्पिने) र कुहिने क्रम सुरु भएको जिल्लामै नमुना तरकारी किसान मानिएका भङ्गाहा–३ का सत्यनारायण यादवले बताए । गत कात्तिक २५ गते यता तीन चोटि टिपिसक्नुपर्ने हरियो तरकारी अहिलेसम्म एकपटक पनि नटिपिँदा आफूहरु निकै मर्कामा परेको तरकारी उत्पादक किसानको गुनासो छ ।

जिल्लाका तरकारी पकेट क्षेत्र मानिएका लक्ष्मीनियाँ, बेलगाछी, भरतपुर, पशुपतिनगर, बिजलपुरा, भङ्गाहा, माईस्थान र हतिसर्वासहितका गाविस बस्तीमा बन्दकै कारण हरियो तरकारी बाली बजार पुग्न नसक्दा किसानसँगै उपभोक्तासमेत मर्कामा परेका जिल्ला कृषि विकास कार्यालयले समेत स्वीकार गरेको छ ।

यसैबीच जिल्लाका उद्योग वाणिज्य सङ्घ महोत्तरी, बर्दिवास, जलेश्वर, गौशाला र रामगोपालपुरले अब बन्दको संस्कृति पूरै बन्द गर्न सम्बद्ध राजनीतिक दल र राज्यपक्षसँग आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us