साक्षरताका लागि एक करोड

काठमाण्डु टुडे २०७० मंसिर २ गते १:५६ मा प्रकाशित

मंगलबारे, २ मंसिर–इलाम जिल्लाका १५ हजार निरक्षरलाई साक्षर बनाउन सरकारले यस वर्ष एक करोड रुपैयाँ विनियोजन गरेको छ । सन् २०१५ सम्ममा नेपालबाट निरक्षरता उन्मूलन गरी सबैलाई साक्षर बनाउने राष्ट्रिय लक्ष्य बमोजिम चालु आर्थिक बर्षमा एक करोड विनियोजन गरिएको जिल्ला शिक्षा कार्यालय इलामले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षमा जिल्लाका १४ गाविसका निरक्षरलाई साक्षर बनाउन साक्षरता अभियान सञ्चालन गर्दै छ । फाकफोक, धुसेनी, सोयाङ, जमुना, नयाँबजार, इरौटार, कन्याम, नामसालिङ, शान्तिपुर, इभाङ, बाँझो, लक्ष्मीपुर, महमाई र चुलाचुलीमा साक्षरता अभियान सञ्चालन हुने जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले जानकारी दिए । जिल्लामा सामुदायिक अध्ययन केन्द्रले साक्षरता अभियान चलाउने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा जिल्लाका १४ गाविसमा यो कार्यक्रम लागू गरी ११ हजार ६९७ जनालाई साक्षर बनाइएको थियो ।

तीन वर्षदेखि क्षेत्र निर्धारण गरेर इलाममा कार्यक्रम भइरहेको छ । आर्थिक बर्ष २०६७/६८ देखि अभियान सुरु भएको हो । पहिलो वर्ष छ हजार १३५ जनालाई साक्षर बनाइएको र त्यसका लागि ७८ लाख ६१ हजार खर्च गरिएको कार्यालयले जनाएको छ । त्यस्तै आर्थिक बर्ष ०६८/६९ मा ५७ लाख खर्च गरेर सात हजार ४०० तीनजनालाई साक्षर बनाइएको थियो ।

इलाम जिल्लामा १५ वर्षभन्दा माथिका नागरिक निरक्षर छन् । प्रौढ महिलाको संख्या धेरै रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us