
स्याङ्जा, २ मंसिर–साल्ट ट्रेडिङ कर्पोरेसनले बजारमा नुनको अभाव नरहेको बताइरहेका बेला स्याङ्जामा भने एक्कासि नुनको अभाव देखिएको छ । सञ्चारमाध्यममार्फत नुनको अभाव भन्ने हल्ला बजारमा छाएपछि व्यापारीले पछि महँगो शुल्कमा बिक्री गर्न पाइन्छ भनेर लुकाएको हुनसक्ने अनुमान उपभोक्ताले लगाएका छन् ।
नुनको अभाव भन्ने हल्ला आएपछि स–साना किराना पसलमा नुन किन्न जाने सर्वसाधारणको शुक्रबार निकै भीड लागेको थियो । उपभोक्ताले प्रति परिवार ५–७ पोकासम्म नुन खरिद गरेकाले अभाव देखिएको व्यापारीले बताएका छन् । बजारमा नुन नपाइएपछि गोप्य रुपमा प्रतिकिलो खाने नुन १०० रुपैयाँसम्ममा खरिद गरेको उपभोक्ताले बताएका छन् ।
यता स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले भने वालिङ तथा स्याङ्जामा रहेका उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरुसँग परामर्श गरेर बजार अनुगमन गर्ने जानकारी दिए ।
“तराईमा नुनको अभाव भएको सूचना आएकाले यहाँ पनि व्यापारीले लुकाएको हुन सक्छ” प्रजिअ राउतले भने, “बजार अनुगमन गर्ने तयारीमा जुटेका छौं, यदि व्यापारीहरुले लुकाएर कृत्रिम अभाव गराएको पाइएमा छापा मारी कारबाही गर्नेछौं ।”