
काठमाण्डु, १ मंसिर– अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले करको दायरा विस्तार गर्न सरकारले कर प्रशासनमा संरचनागत, प्रक्रियागत एवम् नीतिगत सुधार थालिएको उल्लेख गर्दै राज्यको प्राथमिकता करमैत्री राजस्व प्रशासन भएको बताएका छन् ।
‘उच्च व्यावसायिक नैतिकताको सम्मान, करदातामैत्री करप्रशासनको अभियान’ नाराका साथ आन्तरिक राजस्व विभागले शनिबार आयोजना गरेको दोस्रो राष्ट्रिय कर दिवस समारोहको उद्घाटन गर्दै उहाँले उक्त कुरा बताए । उनले थपे, ‘करदाताको क्षमता अभिवृद्धि गर्न सरकार लागिपरेको छ, त्यसका निम्ति निजी क्षेत्रसँग सहकार्य र सहयात्रा गर्न हामी तयार छौ ।’
नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले करको आधार विस्तार तथा गैरकर राजस्व बढाउनु अपरिहार्य भएको बताउँदै आर्थिक, मौद्रिक एवम् वित्तीय नीति पनि त्यतैतर्फ केन्द्रित गर्ने केन्द्रीय बैंकको नीति रहेको उल्लेख गरे ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले सामाजिक उत्तरदायित्वसहितको स्वच्छ र पारदर्शी व्यवसायप्रति निजी क्षेत्र प्रतिबद्ध रहेको बताए ।