नुनको कृतिम अभाव गर्दै कालोबजारी

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते ११:५२ मा प्रकाशित

salt-nepalविराटनगर, २९ कात्तिक– पूर्वाञ्चल क्षेत्रमा आयोडिनयुक्त नुनको अभाव नरहेको साल्ट्र ट्रेडिङ अञ्चल कार्यालय विराटनगरले जनाएको छ । बजारमा नुनको अभाव भएको हल्ला सिर्जना भए पनि साल्ट्र टेडिङका अञ्चल प्रबन्धक नवीनचन्द्र झाले नुनको अभाव नरहेको बताए ।

कर्पोरेसनको अञ्चल कार्यालय विराटनगरको गोदाममा नुनको प्रयाप्त मौजदात रहेको बताइएको छ । विभिन्न छापा एवम् विद्युतीय सञ्चारमाध्यमले छिमेकी राष्ट्र भारत तथा नेपालका केही अन्य क्षेत्रमा नुनको अभाव भएको प्रचारप्रसार गरेपछि विभिन्न पसलमा नुन खरिद गर्नेको भिड शुक्रबार बिहानदेखि लागेको छ ।

यता कतिपय पसलले नुन छैन भनी ग्राहकलाई फर्काउने गरेको र नुन कालोबजारीमा बिक्री गरिरहको बताइएको छ । साल्ट ट्रेडिङले अञ्चल कार्यालय सोझै एवम् डिलरमार्फत नुन बिक्री वितरण गरिरहेको जनाएको छ । यता मौका फाइदा उठाउन नेपाल बजार डिपार्टमेन्टल स्टोर विराटनगरले रु २०० को सामान खरिद गरेमा एक प्याकेट नुन बिक्री गरिएकोमा उपभोक्ताले विरोध गरेका छन् ।

सिरहा– हल्ला फैलाएर सिरहामा प्रतिकिलो रु १०० सम्ममा नुनको बिक्री भएको छ । भारतबाट फैलिएको हल्ला पछाडि परेर उपभोक्ता सिरहामा पनि प्रतिकिलो रु १०० का दरले नुन खरिद गरेको हो । भारतमा हल्ला  फैलिएपछि यहाँका व्यापारीहरु पनि कालोबजारी गर्न हल्ला फैलाएर नुन किलोको रु ४० देखि रु १०० सम्ममा बिक्री गरेका छन् ।

इँटाटार घर भई लहानमा बस्दै आएका विद्यार्थी धर्मेन्द्र पासवानले भने, ‘एक साथीले फोन गरेर भन्यो नुन भेट्नै छाड्यो । त्यसपछि बजारमा खोज्न जाँदा प्रतिकिलो रु ४० का दरले पाँच किलो खरिद गरे ।’

साथीले फोन गर्दा प्रतिकिलो रु १०० मा सिरहा सदरमुकाममा नुन बिक्री भइरहेको भनेर भनेका थिए, त्यसैले रु ४० को दरले नुन किनेको विद्यार्थी पासवानले जानकारी दिए । उहाँले सिरहा जिल्लाभरि नै नुनको भाउ एकाएक बढेको बताए । उनका अनुसार पसलमा नुन रहेपनि अझ बढी मूल्यमा बिक्री गर्न व्यापारी बिक्री गर्न पनि छाडेका छन् ।

नुनको मूल्य एकाएक बढेको अपवाह फैलिएपछि इलाका प्रशासन कार्यालय लहानले हल्लाको पछाडि नपर्न सार्वजनिक सूचना जारी गरेको छ । लहानका प्रशासकीय अधिकृत राजुप्रसाद साहले हल्लाको पछाडि परेर बढी मूल्यमा नुन खरिद नगर्न माइकिङ गराइएको बताए । उनले रेडियोबाट समेत सार्वजनिक सूचना प्रसारण गर्न लगाएको भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us