चुनावसँगै बजार अनुगमन सुस्तायो, नुन प्रतिप्याकेट ५० रुपैयाँ तिर्न उपभोक्ता बाध्य

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते २:१२ मा प्रकाशित

रौतहट, २९ कात्तिक–संविधानसभा निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउँदै जिल्लास्तरीय अनुगमन समितिले बजार अनुगमन गर्न तदारुकता नदिएपछि रौतहटमा उपभोक्ता ठगिन थालेका छन् । जिल्लाकै प्रमुख व्यापारिक केन्द्र रहेको सदरमुकाम गौरसहित गङ्गापिपरा, गरुडा, समनपुर, कटहरिया, राजपुरलगायतका बजार क्षेत्रमा रहेका किराना पसलले मनोमानी ढङ्गले मूल्य निर्धारण गरेको पाइएको छ ।

किराना पसलको अनुगमन नहुँदा विभिन्न सामग्रीको कृत्रिम अभाव देखाई उपभोक्ताहरु ठगिएका हुन् । रौतहट जिल्लाको विभिन्न बजारमा कालाबजारी सुरु भएको छ । दैनिक उपभोग्य बस्तुको कृत्रिम अभाव देखाई मूल्य बृद्धि गरी बिक्री–वितरण गरिँदा सर्वसाधारण मर्कामा परेका छन् ।

बिहीबार दिउँसोदेखि प्रति प्याकेट ५० देखि सय रुपैयाँसम्ममा नुन बिक्री गर्दा आफूहरु ठगिएको उपभोक्ताले बताएका छन् । बजारमा म्याद नाघेका र मूल्यसूचीबिना नै व्यापारीले सामान बेच्ने क्रम नरोकिएको उपभोक्तावादी अधिकारकर्मीले बताएका छन् ।

उद्योग वाणिज्य सङ्घ रौतहटका अध्यक्ष कन्तमन्नी जैसवालले उपभोक्तालाई सहज रुपमा नुन उपलब्ध गराउन आग्रह गर्दै कृत्रिम अभाव देखाई कालाबजारी गरी कारबाहीमा परे व्यवसायी स्वयम् जिम्मेवार हुने बताए । नेकपा–माओवादीलगायत ३३ दलको बन्दकै कारण जिल्लामा उपभोग्य वस्तुको कृत्रिम अभाव भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us