जलविद्युत प्राथमिकता रहेको अर्थमन्त्रीको भनाइ, प्राधिकरणका स्टोरकिपर हिरासतमा

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते १३:२५ मा प्रकाशित

Shankar-Prasad-Koiralaकाठमाण्डु, २८ कात्तिक– अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सरकारको पहिलो प्राथमिकता जलविद्युत र पूर्वाधार विकास भएको उल्लेख गरेका छन् ।

नेपालका लागि जापानका राजदूत मसासी ओगावासँग बिहिबार अर्थ मन्त्रालयमा भएको भेटमा निजी र वाह्य लगानीकर्तालाई पनि जलविद्युतको क्षेत्रमा लगानीका निम्ति प्रोत्साहन गरिएको बताए । उनले देश निर्वाचनमय भएको बताउँदै निर्वाचनपछि संविधान लेखिने र त्यसपछि आउने सरकारले आर्थिक विकासलाई पहिलो कार्यसूचीमा राख्ने बताए ।

राजदूत ओगावाले आफ्नो कार्यकालमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई प्रगाढ बनाई नेपालको विकासमा जापानले पुर्‍याउँदै आएको सहयोगलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

प्राधिकरणका स्टोरकिपर अख्तियारको हिरासतमा

काठमाण्डु– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन वरिष्ठ सहायक (स्टोर किपर) अर्जुनबहादुर केसीलाई हिरासतमा लिएको छ ।

अभियुक्त केसीले नेपाल विद्युत् प्राधिकरणको भण्डारमा रहेका जिन्सी सामान हिनामिना गरी प्राधिकरणलाई रु ६३ लाख १० हजार ५४२ बराबरको हानी नोक्सानी पु¥याएकाले उनीसँग सोही बराबरको धरौटी रकम माग गरिएको थियो । उनले उक्त रकम बुझाउन नसकेकाले आज हिरासतमा लिइएको आयोगले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us