
काठमाण्डु, २८ कात्तिक– भारत सरकारले संविधानसभा निर्वाचन सम्पन्न गराउनका लागि भन्दै निर्वाचन आयोगलाई ४८ वटा सवारी साधन उपलब्ध गराएको छ । बुधबारमात्रै भारत सरकारले सात सयभन्दा बढी सवारी साधन गृहमन्त्रालयलाई प्रदान गरेको थियो ।
आयोगमा बिहिबार आयोजित समारोहमा नेपालका लागि भारतका राजदूत रञ्जित रेले आयोगका सचिव नरेन्द्र दाहाललाई ती सवारी साधनको साँचो हस्तान्तरण गरे । ती सवारी साधनमा तीनवटा मिनी ट्रक, पाँच वटा स्कारपियो गाडी र ४० वटा पिकअप गाडी रहेका छन् ।
ती सवारी साधनको मूल्य रु पाँच करोड ५० लाख रहेको छ । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आयोग लागिरहेको सन्दर्भमा भारत सरकार र भारतीय जनताको सहयोग महत्वपूर्ण रहेको बताए ।