
बाँके, २८ कात्तिक । असत्यमाथि सत्यको विजय भएको सम्झनामा मुस्लिम समुदायले विहीबार विश्वभर धुमधामसँग मोहर्रम पर्व मनाइरहेका छन् । तेह्र सय वर्ष पहिला मुस्लिमको हक र अधिकारका लागि इराकमा भएको यजिद (दुसमन)का सेनासँग भएको युद्धमा हजरत इमाम हुसेन र हजरत इमाम हसन नमाज पढिरहेका बेला सेनाले चलाएको गोली लागी सहिद भएका थिए । सोही दिनको सम्झनामा मुस्लिम समुदायद्वारा इस्लामिक नयाँ सालको पहिलो महिना अर्थात् मोहर्रमुल हरामको १ देखि १० तारिखसम्म यो पर्व मनाउने गरिन्छ ।
नेपालगन्ज मोहर्रम समितिका संयोजक मेराजअहमद हिमालले भने, ‘अल्लाहको आदेशअनुसार इमाम हुसेनले आफ्नो परिवारको ख्याल नगरी इस्लाम (धर्म) का लागि आफ्नो बलिदान गरेको सम्झनामा नेपाली मुस्लिमले समेत यो पर्व धुमधामसँग मनाउने गरेको हो ।’
यो पर्वको दिन खुसीको नभई दुःखको दिन भएकाले कुरानको पाठ गर्ने र दुई दिन व्रत बस्ने गरे पनि अधिकांश मुस्लिमले तजिया राख्ने र सामूहिक प्राथना गर्दछन् । यो पर्व शुक्रबार ताजियासहित नेपालगन्जको विभिन्न भागको परिक्रमा गरी साँझ समापन गरिन्छ ।