वैद्य माओवादीका नेताको घरमा छापा

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते ४:२५ मा प्रकाशित

गोलबजार, २८ कात्तिक–चुनाव बहिष्कारको घोषणा गरेको नेकपा–माओवादीका छजना जिल्ला नेता तथा कार्यकर्ताको घरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाको विशेष टोलीले छापा मारेको हो ।

माओवादीका जिल्ला सेक्रेटरी लालपुर–८ का रामनारायण सिंह, जिल्ला सहइन्चार्ज जमदह–९ का दीपेश लामा, लालपुर–४ का शम्भु साह र वैद्यनिकट पत्रकार लहान–८ का राजेश रामको घरमा प्रहरीले छापा मारेको हो । छापामारीमा कुनै नेता नभेटिनुका साथै अवैध समान पनि फेला नपरेको प्रहरी स्रोतले जनाएको छ ।

पत्रकार रामकी श्रीमती पार्वती चौधरीले घरमा अवैध समानहरु नभेटेपछि स.३ प. ५५५५ नम्बरको मोटरसाइकल, ल्यापटप, सुनको सिक्री र केही किताब सुरक्षाकर्मीले लगेको आरोप लगाइन् । पत्रकार राम कोसी मासिकका मधेस ब्यूरो प्रमुख हुन् ।

यता इलाका प्रहरी कार्यालय लहानका प्रहरीनायब उपरीक्षक कृष्णजी अधिकारी र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले छापा मारेको विषयमा आफूलाई थाहा नभएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us