दुई महिलाको शव भेटिए

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते ४:४१ मा प्रकाशित

गौशाला, २८ कात्तिक–महोत्तरीको छुट्टाछुट्टै दुई स्थानमा दुई महिलाको शव फेला परेको छ ।     जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जिल्लाको खुट्टा पिपराढी गाविस–९ मा एक र औरही गाविस–३ मा एक गरी दुईवटा शव बरामद भएको हो ।

प्रहरी निरीक्षक इकबाल हवाडीका अनुसार खुट्टा पिपराढी गाविस–९ मा नाम, थर, वतन खुल्न नसकेको अन्दाजी ७० वर्षीया वृद्धाको शव एक खेतमा सडेगलेको अवस्थामा फेला परेको हो । स्थानीयवासीका अनुसार मृतक वृद्धा केही दिन पहिलेदेखि त्यस क्षेत्रमा माग्दै हिँड्ने गरेकी थिइन् । प्रहरीले ती वृद्धा पाँच–छ दिन पहिले मरेको हुन सक्ने आशङ्का गरेको छ । शव परीक्षणका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको छ ।

त्यस्तै औरही गाविस–३ स्थित जंग्हा खोला किनारमा रूखमा झुन्डिरहेको अवस्थामा एक महिलाको शव फेला परेकोे छ । नाम, थर, वतन खुल्न नसकेकी अन्दाजी २८ वर्षीया ती महिलाको शव सारीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको हो । सोही ठाउँमा एक–दुई वर्षीया बालिका रोइरहेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक हवाडीले बताए ।

प्रहरीका अनुसार ती महिला केही दिनदेखि औरहीका जयलाल चौधरीको घरमा डेरा लिई बस्दै आएकी थिइन् तर उनी कहाँबाट आएकी र को हुन् भन्नेबारे केही थाहा नभएको स्थानीय बासिन्दाले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us