
विराटनगर, २८ कात्तिक–नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले राप्रपा नेपालले वीपी कोइरालाको बदनाम गरेको भन्दै आपत्ति जनाएका छन् । पञ्चायतकालमा वीपीलाई फाँसी दिनुपर्छ भन्ने दरबारीया शक्तिले अहिले बीपीको सिद्धान्त र आदर्श मिलेको भन्दै वीपीको तस्विर सहित चुनाव प्रचार गरिरहेकोमा उनले आपत्ति जनाएका हुन् ।
नेपाल प्रेस युनियन मोरङले विराटनगरस्थित कोइराला निवासमा विहीबार विहान गरेको पत्रकार भेटघाटमा उपसभापति पौडेलले त्यसलाई रोक्न कार्यकर्तालाई निर्देशन दिए । ‘वीपीको नाम भजाएर आफ्नो राजनीतिक अभिष्ट पूरा गराउने षड्यन्त्रमा दरबारिया तत्व लागिरहेको छ,’ पौडेलले भने, ‘त्यस्ता तत्वलाई परास्त गर्न नेपाली काँग्रेसका आमकार्यकर्तालाई म आग्रह गर्दछु ।’
उनले नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले नेपाली जनतालाई गंभिर धोका दिएको आरोप लगाए । नेकपा–माओवादीले नेपालमा संविधानसभा नचाहेको भन्दै उनले निर्वाचन बहिष्कारका नाममा दुःख दिए नेपाली जनताले उनीहरूलाई ठीक पार्ने चेतावनी दिए । ‘पहिला संविधानसभाको माग राखेर आन्दोलन गर्ने मोहन वैद्यहरू आज संविधानसभाको निर्वाचन बहिष्कारका नाममा नेपाली जनतालाई धोका दिइरहेका छन्,’ उनले भने ।
उनले मोहन वैद्य नेतृत्वको मोर्चालाई मन्त्रिपरिषदबाट मनोनीत गरिने २६ सिट दिने अधिकार कसैलाई नभएको धारणासमेत राखे । ‘संविधानसभाको २६ सिट देशका सम्मानित नागरिक र कानुनका विज्ञहरूलाई दिइने हो,’ उपसभापति पौडेलले भने, ‘कसैले आन्दोलन गरेकै भरमा उपहारका रुपमा सिट दिन सकिदैन ।’
कांग्रेसको जितले मात्रै सबै धर्म, संस्कृति र जातजातिको अधिकार सुनिश्चित हुने जिकीर गर्दै पौडेलले कांग्रेसलाई दोश्रो संविधानसभा निर्वाचनमा पहिलो शक्तिको रुपमा स्थापित गर्न आग्रह पनि गरे ।