शुक्रबारदेखि मतदाताको हातमा परिचयपत्र

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते ४:१५ मा प्रकाशित

काठमाण्डु, २८ कात्तिक– निर्वाचन आयोगले शुक्रबारदेखि मतदाता परिचय पत्र वितरण शुरु गर्ने तयारी गरेको छ । प्रायजसो जिल्लामा मतदाता परिचयपत्र पठाइसकेकाले आफूले मतदान गर्ने मतदान केन्द्रबाट परिचयपत्र लिन आयोगले सबैलाई आग्रह गरेको छ ।

परिवारका सबै सदस्य परिचय पत्र लिन जान नपाए घरको मूलीले परिचयपत्र लिन सक्नेछ । मंसिर २ गते भित्र परिचय पत्र बाँडिसक्ने लक्ष्य छ । शनिबार सार्बजनिक विदाको दिन पनि परिचयपत्र बाँड्ने आयोगले जनाएको छ ।

समय अभाव र भौगोलिक विकटताका कारण परिचयपत्र सबैको हातमा पुग्ने सम्भावना भने कम छ । तर, नागरिकता वा सरकारी परिचयपत्र देखाएर मतदान गर्न सकिने आयोगले स्पष्ट पारेको छ । फोटो सहितको मतदाता नामावलीमा नाम नभएकाले मतदान गर्न पाउने छैनन् । सबै मतदान केन्द्रमा नामावली पठाइसकेको आयोगका प्रवक्ता बीरबहादुर राईले जानकारी दिए ।

यसअघि प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले ताप्लेजुङबाट मतदाता परिचय पत्र बाँड्न शुरु गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us