अफगानिस्तानमा अफिमको उत्पादन बढ्यो

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते १८:१२ मा प्रकाशित

काबुल, २७ कात्तिक–अफगानिस्तानमा सन् २०१३ मा अफिमको उत्पादन इतिहासमै सबैभन्दा बढी भएको अनुसन्धानमा देखिएको जनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घका अधिकारीहरुले अफगानिस्तानमा यस वर्ष अफिमको उत्पादन विगतका वर्षहरुको तुलनामा कम्तीमा पनि ३६ प्रतिशतले बढेको पाइएको छ ।
लागू औषधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय एजेन्सी युएनओडिसीका अनुसार अफगानिस्तानमा अफिमको उत्पादन विगतका वर्षहरुका तुलनामा निकै वृद्धि भइरहेको छ ।
उक्त संस्थाकाअनुसार अफिमको उत्पादन र विशेषगरी हिरोइन बनाउने कच्चा पदार्थमा कम्तीमा पनि ५० प्रतिशतले वृद्धि भइरहेको पाइएको पनि समाचारमा उल्लेख छ ।
विगतका वर्षको तुलनामा यसवर्ष गाँजाको खेतीपनि ३६ प्रतिशत भन्दा बढी जमिनमा लगाइएको पनि सो अनुसन्धानबाट खुलेको छ ।
अफगानिस्तानका नागरिकमा नेटो सैनिकको त्रासका साथै तालिवानहरुको आक्रमणका कारण ज्यान जाने गरेकाले उनीहरुले डर भगाउनका लागि कतिपयले लागू औषधको प्रयोग गर्ने गरेका पनि पाइएको छ ।
करिब दश लाख अफगान नागरिक लागू औषधको प्रयोगका दुव्र्यशनी रहेकोे प्रतिवेदन पनि हालैमात्र सार्वजनिक गरिएको थियो । हालै सार्वजनिक भएको सो प्रतिवेदनका अनुसार अफगानिस्तानका करिब दश लाख नागरिक यस्तो लतबाट पीडित भएको पाइएको छ ।
अफगानिस्तानमा रहेको युवा जनसङ्ख्यामध्ये करिब २.७ प्रतिशतले यस्तो औषधिको प्रयोग गर्ने गरेका पाइएको सो प्रतिवेदनले देखाएको छ । तर विगतका वर्षहरुको तुलनामा हाल यस्तो औषधको प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको पाइएको सो प्रतिवेदनले देखाएको छ ।
हालैका वर्षहरुमा यसरी लागू औषधमध्ये अफिमका प्रयोगकर्ताहरुको सङ्ख्या करिब ५३ प्रतिशतले बढेको सो प्रतिवेदनले देखाएको छ ।
अफगानिस्तान ड्रग रिपोर्ट २०१२ नामको सो प्रतिवेदनका अनुसार ती लागूऔषधका दुव्र्यवशनीहरुले वर्षमा सो प्रयोजनका लागि वर्षेनी निकै ठूलो धनराशी पनि खर्च गर्ने गरेका छन् ।  त्यहाँ गाँजाको अवैध खेती देशव्यापी रुपमा हुने गरेको छ । साथै यसको अवैध उत्पादन र बिक्रीवितरणको कामलाई सरकारले नियन्त्रणमा लिन नसकेको बताइएको छ ।
अफगानिस्तानमा हाल करिब ७५ हजार नेटो सैनिक रहेका छन् । उनीहरुले आगामी सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तान छोड्ने घोषणा गरिसकेका छन् । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us