प्रचण्डको निर्वाचन क्षेत्रमा झलनाथ जाँदै

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते १७:४१ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक–संविधानसभा निर्वाचनका प्रचार प्रसारको क्रममा नेकपा (एमाले) का शीर्ष नेताहरु पछिल्लो समयमा आफ्नो चुनावी क्षेत्रका साथै अन्य विभिन्न जिल्लामा हुने चुनावी सभामा सहभागी हुन थालेका छन । prachanda–jhalanath_20110513033100
अन्य क्षेत्रबाट पनि माग भएपछि ठूला आमसभा नगर्ने नीति भएपनि शीर्ष नेताहरुका विभिन्न कार्यक्रम तय भएको एमालेका नेता प्रदिप नेपालले जानकारी दिए ।
यस अन्तर्गत पार्टी अध्यक्ष झलनाथ खनालले बुधवार सर्लाही क्षेत्र नं. २ मा आयोजित ३ वटा चुनावी सभालाई सम्बोधन गरेका थिए भने उनले कात्तिक २९ गते सिरहा क्षेत्र नं. ५ मिर्चैयामा हुुने आमसभालाई सम्बोधन गर्दैछन । एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड सिराहाको सोही क्षेत्रबाट प्रत्यक्ष तर्फको उम्मेदवार छन । अध्यक्ष खनालले मङ्सिर १ गते इलाम क्षेत्र नं १ मा हुने सभालाई सम्बोधन गर्नेछन ।
यस्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बुधवार पर्साको क्षेत्र नं. २, ३ र ५ मा आयोजना भएको क्षेत्रीय सभालाई सम्बोधन गरेका थिए ।
यस्तै स्थायी समिति सदस्य केपी शर्मा ओलीले बुधवार मोरङ क्षेत्र नं. ४ मा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गरेका थिए ।
यसैगरी उपाध्यक्ष विद्या भण्डारीले बुधवार धनुषा क्षेत्र नम्बर ४, ५ र ७ मा आयोजित चुनावी सभालाई सम्बोधन गरेकी थिइन ।
यसैगरी यसअघि नै लम्जुङ पुगिसकेका एमाले महासचिव ईश्वर पोखरेलले उपत्यकाका बिभिन्न क्षेत्रमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us