
सिरहा, २७ कात्तिक । तराई मधेसमा मधेसी पार्टीहरुकै जनआधार कमजोर भइरहेको अवस्थामा सिरहामा दुई मधेसी पार्टीहरुबीच चुनावी तालमेलको सहमति भएको छ । राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) र तराई मधेस सद्भावना पार्टी (तमसपा)बीच सिरहा–६ मा चुनावी तालमेल भएको हो ।
चुनावी तालमेल भएपछि फोरम गणतान्त्रिकका अध्यक्ष यादवले सिरहा–६ मा आफूले जित्ने दाबी गर्न थालेका छन् । यादवलाई तमसपाका उम्मेदवारले सहयोग गर्ने र सिरहा–४ का तमसपा उम्मेदवार उपेन्द्र सिंह महतोलाई फोरम (गणतान्त्रिक)का उम्मेदवारले सहयोग गर्ने सहमति भएको हो ।
क्षेत्र नं ४ मा तमसपामा पर्ने समानुपातिकतर्फको सम्पूर्ण मत फोरम गणतान्त्रिकलाई दिने सहमतिसमेत भएको फोरम गणतान्त्रिकका नेता बेचन यादवले जानकारी दिए । उनका अनुसार अन्य मधेसी दलबीच पनि तालमेल गर्ने छलफल भइरहेको छ ।