१२ प्रसारण लाइनलाई अनुमति

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते ९:४८ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक– सरकारले यस वर्ष १२ वटा आन्तरिक प्रसारण लाईन निर्माणका लागि जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई अनुमति दिएको छ । उत्पादित बिजुलीलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि सो संख्याको अनुमतिपत्र प्रदान गरिएको विद्युत् विकास विभागका सूचना अधिकृत गोकर्णराज पन्थले जानकारी दिए ।

ती मध्ये माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित ४५६ मेगावाट विद्युत्लाई काठमाडौँसम्म ल्याउनका लागि तामाकोसी काठमाण्डु ४०० किलोभोल्ट प्रसारण लाइन निर्माण गर्ने अनुमति लिएको छ । यस्तै समुन्द्रटार त्रिशूली १३२ केभी प्रसारण लाइनको अनुमतिपत्र सो आयोजनाले यसै वर्ष लिएको छ । माथिल्लो त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडनका लागि सो अनुमति लिइएको हो ।

यस्तै तल्लो अरुण २०० किलोभोल्ट, मध्य मोदी १३२ किलोभोल्ट, कालीगण्डकी  कोवाङ, २२० किलोभोल्ट, माथिल्लो माडी १३२ किलोभोल्ट, अपर चाकु १३२ किलोभोल्ट, रुदी खोला १३२ किलोभोल्ट, चाँदी खोला १३२ किलोभोल्ट क्षमताको प्रसारण लाइन निर्माणका लागि अनुमति लिइएको विभागका सूचना अधिकृत पन्थको भनाइ छ । राष्ट्रिय प्रसारण लाइन निर्माण गर्ने प्रमुख जिम्मा विद्युत् प्राधिकरणको भएपनि आयोजनाले उत्पादन गरेका बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि आयोजनाले प्रसारण लाइन निर्माण गर्नुपर्दछ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us