विद्यार्थीको गोजी खर्च बैंकमा

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते १०:४२ मा प्रकाशित

pocket-moneyनेपालगन्ज, २७ कात्तिक– विद्यालयमा अध्ययनरत छात्रछात्रालाई बचतको बानी बसाली आर्थिक अनुशासन कायम गराउने उद्देश्यले बाँके युनेस्को क्लबले बाँके र बर्दिया जिल्लामा ‘युवा बचत परियोजना’ सञ्चालन गरेको छ ।

ती दुवै जिल्लाका ६ विद्यालयमा सञ्चालित परियोजनाअन्तर्गत हालसम्म त्यस विद्यालयका १० देखि २२  वर्षसम्मका २०० भन्दा बढी छात्रछात्राले बैँक अफ काठमाडौँमा बचत खाता खोलेका छन् । अभिभावकले दिएको ‘गोजी खर्च’ बाट थोरै रकम जोगाएर छात्रछात्राले बैंकमा रकम जम्मा गर्ने गरेको कार्यक्रम संयोजक नवराज शर्मा बताउछन् ।

बैंक अफ काठमाडौँका प्रतिनिधिले परियोजना सञ्चालन भएको विद्यालयमा गएर नयाँ खाता खोल्ने, रकम जम्मा गर्ने र विद्यार्थीले रकमसमेत झिक्न सक्ने व्यवस्था मिलाएकाले पनि विद्यार्थीहरु त्यसप्रति क्रमशः आकर्षित हुँदै गएका छन् । न्यूनतम रु १०० मा खाता खोल्न सक्ने प्रावधान राखिएको सो परियोजनाअन्तर्गत खाता खोलिएका विद्यार्थीलाई बैंकले एटिएम कार्डसमेत दिने गरेको छ ।

बाँकेको त्रिभुवन उमावि, ज्ञानज्योति उमावि, सगरमाथा ज्ञानकुञ्ज उमावि, बर्दियाको शम्भुशरण उमावि, ध्रुव उमावि र महाकवि देवकोटा उमाविका छात्रछात्राले आफ्नो गोजी खर्च जोगाएर बैंकमा खाता खोलेका छन् । बंैकका अनुसार, एक जनाको अहिलेसम्म सरदर रु दुई हजारसम्म रकम जम्मा भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us