
काठमाण्डु, २७ कात्तिक– संविधानसभाको चुनाव बिथोल्न यातायात बन्द गरिरहेको नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य, किरणले शान्तिप्रक्रियाको एक अभिन्न अंग आफूहरु रहेको दाबी गर्दै माओवादीलाई पाखा लगाएर शान्तिप्रक्रिया निश्कर्षमा पुग्न नसक्ने बतएका छन् ।
उनले भने, ‘हामीलाई वेवास्ता गरियो, यसरी पाखा लगाउन पाइँदैन, यसले द्वन्द्वको समाधान गर्दैन, बरु बढाउँछ । राजनीतिक सहमति विना मुलुकको समस्या समाधान हुँदैन त्यसैले अहिलेपनि केही बिग्रिएको छैन । सहमतिको प्रयास गरियोस ।’ वैद्य निवास धापासीमा आयोजित साक्षात्कारमा उनले बन्दुकको भरमा निर्वाचन गर्न खोजेको आरोप लगाए ।
बन्द खुल्दैन
वैदले आफूहरुको माग पुरा नभएसम्म निरन्तर आन्दोलन गर्ने चेतावनी दिँदै जारी यातायात बन्द फिर्ता नहुने बताए । वैद्यले भने, ‘यातायात बन्द निरन्तर चल्छ । अब बन्दलाई प्रभाविकारी बनाउन तिर हामी लाग्छौं । हाम्रो माग पूरा नभएसम्म रोकिने बाला छैनौं ।’
बमको विषयमा थाहा छैन
बहिस्कार आन्दोलनको बेला फेला परेका बमहरुको विषयमा आफूहरुलाई कुनै जानकारी नभएको वैद्यले जिकिर गरे । उनले आक्रोशित जनता र कार्यकर्ताले आगो लगाउने काम गर्नु स्वभाविक भएको र यस्तो अवस्था स्वयम सरकार र प्रमुख राजनीतिक दलहरुले नै आउन बाध्य बनाएको दावी गरे ।
बाहिर हल्ला भए जस्तो सरकारले आफूहरुलाई पक्राउ गर्न खोजेको हो भने त्यसको आफूहरुले सहर्ष स्वागत नै गर्ने टिप्पणी समेत उनले गरे ।
अर्ति उपदेश चाहिँदैन
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफूहरुलाई मन्त्री परिषदबाट मनोनित हुने २६ सिट दिएर संविधानसभामा ल्याउने भनि दिएको अभिव्यक्तिलाई आफूहरुमाथिको अपमानजनक अभिव्यक्तिको संज्ञा दिदै जानै परे अब यो सत्ता हटाएर नयाँ सत्ता ल्याएर जाने चेतावनी दिए ।
नेपालको विषयलाई लिएर विदेशी शक्तिहरुले सकारात्मक वा नकारात्मक भन्ने अधिकार नभएको भन्दै वैद्यले भने, ‘हामीलाई कसैको अर्ति र उपदेश चाहिँदैन, हामी आफै समस्याको समाधान गर्न सक्छौं ।’