एकै जिल्लामा ७ हजार केटाकेटी निमोनिया पीडित

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते १०:०१ मा प्रकाशित

nimoniyaजाजरकोट, २७ कात्तिक- जिल्लामा पाँच वर्षमुनिका एक तिहाइ बालबालिका निमोनिया पीडित भएको पाइएको छ ।

जिल्लाका पाँच वर्षमुनिका २६ हजार ८०० बालबालिकामध्ये सात हजार ४५५ बालबालिका निमोनियाबाट पीडित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । निमोनिया पीडितमध्ये ४९५ बालबालिकालाई कडा खालको निमोनिया भएको जिल्ला स्वास्थ्य प्रमुख धीरजङ्ग शाहले बताए । जिल्लाका २२ हजार ५९२ बालबालिका स्वासप्रश्वाससम्बन्धी रोगबाट ग्रसित रहेको कार्यालयले जनाएको छ ।

नेपालमा प्रतिवर्ष ५४ प्रतिहजार बालबालिकाको ज्यान जाने गरेको छ । यस्तै प्रतिहजारमा ४६ जना शिशुले एक वर्ष नपुग्दै ज्यान गुमाउने गरेका छन् । यस्तै २८ दिनमुनिका प्रतिहजार ३३ बालबालिकाको ज्यान जाने गरेको र तीमध्ये अधिकांशले निमोनियाकै कारण ज्यान गुमाएको कार्यालयको भनाइ छ ।

विश्वमा बर्सेनि १२ लाख बालबालिका निमोनियाकै कारण ज्यान  गुमाउन बाध्य छन् । कुपोषण, स्याहारको अभाव, चिसो आदि कारणले निमोनिया हुने गर्दछ । निमोनियाले बालबालिका र वृद्धवृद्धालाई सताउने गरेको भन्दै खानपान, स्याहार, चिसोबाट बच्नसके निमोनियाबाट बच्न सकिने चिकित्सक पवन शाक्य बताउछन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us