उपत्यकाको जनजीवन सामान्य

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते ६:०६ मा प्रकाशित

Ktmकाठमाण्डु, २७ कात्तिक । नेकपा–माओवादीसहितको मोर्चाले आह्वान गरेको यातायात बन्द क्रमशः निस्तेज बन्दै गएको छ । दैनिक श्रम गरेर जीवन गुजारा गर्ने निम्नवर्ग र समुदायका श्रमिकले नै यातायात सुचारु गराएपछि बन्द विफल बन्दै गएको हो ।

बन्द भनिएपनि बुधबार उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनबिना अवरोध नियमित रुपमै सञ्चालन भइरहेका छन् । शैक्षिक संस्था, उद्योग, कलकारखाना पनि पूर्ण रुपमा सञ्चालन भएका छन् । त्यस्तै यातायातलगायत क्षेत्रका निजी व्यवसायीले आफ्ना सेवा सुचारु गरेका छन् ।

बन्दबाट आर्थिक क्षेत्रमा नकारात्मक असर पुगेको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाडौँमा शान्ति ¥यालीको आयोजना गरेको छ ।

यता जबर्जस्ती बन्द गराउन खोज्ने १० जना बन्दकर्तालाई काठमाण्डुका विभिन्न स्थानबाट पक्राउ गरिएको वरिष्ठ प्रहरी उपरीक्षक गणेश केसीले जानकारी दिए । केसीका अनुसार बिहानैदेखि काठमाण्डु उपत्यकाको जनजीवन सामान्य छ । सवारी साधन निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । त्यसका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको छ ।

यसैबीच बन्द विफल पारी जनजीवन सामान्य पार्न सरकारले उपत्यकामा विशेष सुरक्षा सतर्कता अपनाएको छ । उपत्यकाका सडकमा सुरक्षा निकायका तीनवटै अङ्गलाई परिचालन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सडक र संवेदनशील स्थानमा गस्ती गरिरहेका तथा प्रहरीले उपत्यकाका सडकमा बिहानैदेखि पिनेट, मोबाइल र स्कर्टिङ गरी सवारी साधन सञ्चालनको वातावरण बनाइरहेको छ । रासस

दार्चुलामा बन्दको प्रभाव छैन

नेकपा–माओवादीसहित ३३ दलले निर्वाचन बिथोल्न आह्वान गरिएको बन्दको प्रभाव सुदूरपश्चिमको विकट हिमाली जिल्ला दार्चुलामा देखिएको छैन । बन्दको अवज्ञा गर्दै निजी, सरकारी र सार्वजनिक भाडाका सवारी साधनसमेत चलेका छन् । सडकमा  बस र लामोदूरीका बस समेत प्रहरीले स्कर्टिङ गरेर सञ्चालनमा ल्याइएको देखिन्छ ।

दार्चुला जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक टीकाबहादुर केसीले मंगलबारको तुलनामा बुधबार दोब्बर सङ्ख्यामा बिहानैदेखि बैतडीे–दार्चुला सडकखण्डमा गाडी पूर्णरुपमा सञ्चालन रहेको बताए ।

स्थानीय तथा छोटो दूरीका यातायात सोमबारदेखि सञ्चालन रहेपनि लामो दूरीको यातायात भने मङ्गलबारदेखि नै सुरक्षाकर्मीको स्कर्टिङमा गाडी गइरहेको प्रनाउ केसीले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us