प्रचण्डलाई लक्षित गर्दै बम विष्फोट

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते ४:५४ मा प्रकाशित

prachanda 1कन्चनपुर, २७ कात्तिक– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको स्कर्टिङमा खटिएको सुरक्षाकर्मीलाई लक्षित गर्दै कन्चनपुरमा बुधबार विहान बम विष्फोट गराइएको छ । कन्चनपुरको बेलौरीको जनसभालाई सम्वोधन गर्न त्यसतर्फ गैरहेकोबेला ढक्कापुर भन्ने स्थानमा बम विष्फोट भएको हो ।

बर्दिया पुल र बेलौरीको बीचमा पर्ने जंगलमा प्रचण्डलाई स्कर्टिङ गरिरहेको गाडिभन्दा १०० मिटर अगाडि नै सडकमा बिछ्याइएको धराप विष्फोट भएको थियो । गाडि पुग्नुभन्दा अघि नै विष्फोट भएकाले कुनै क्षति भएको छैन । घटनास्थलबाट झण्डै ६ सय मिटर लामो तार बरामद भएको छ । लामो तार जंगलसम्म पुर्याएको र त्यहाँबाट स्वीच दबाएर प्रचण्डलाई लक्षित गरी धराप विष्फोट गराइएको थियो ।

एमाओवादी अध्यक्ष प्रचण्ड मेची–महाकाली राष्ट्रिय जागरण अभियानको सिलसिलामा कन्चनपुरमा छन् ।

आसन्न निर्वाचन र प्रचण्डको आगमनलाई ध्यान दिदै सुरक्षा व्यवस्था कडा पारिए पनि धराप विष्फोट भएपछि मात्रै सुरक्षाकर्मीले थाहा पाएका थिए । बम राख्ने समूहको पहिचान नभएको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रचण्डको कार्यक्रमलाई अवरोध पुर्याउन ठाउँ ठाउँमा रुख ढाल्ने, मोबिल पोखिदिने र बम राख्ने काम वैद्य माओवादीले गर्दै आएकोले ढक्कापुरमा पनि माओवादीले नै बम विष्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ ।

कायरतापूर्ण आक्रमण

एकीकृत नेकपा माओवादीले अध्यक्ष प्रचण्डलाई लक्षित गरी गराइएको बम विष्फोटलाई कायरतापूर्ण गतिविधिको संज्ञा दिएको छ । प्रचण्डको निजी सचिवालयले घटनाप्रति आपत्ति जनाउँदै यस्ता गतिविधिबाट पार्टी बिचलित नहुने जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us