सडक बन्द गर्न खोज्ने दुईजना पक्राउ

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते ३:५५ मा प्रकाशित

Salyanसल्यान, २७ कात्तिक–सल्यानमा सडक बन्द गर्न खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । राप्ती राजमार्गअन्तर्गत रिम गाविसमा सडकमा ढुङ्गा राखेर बन्द गर्न खोज्ने रिम गाविस–३ का २१ वर्षीय विशाल रोका र १८ वर्षीय भुपेन्द्र रोकालाई प्रहरीले पक्राउ गरेको हो ।

सडकमा ढुङ्गा राखेर बन्द गर्दै गर्दा स्कटिङमा गएको प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी लालमणि आर्चायले जानकारी दिन ।

नेकपा–माओवादीले बन्द गरेको समयमा सेना र प्रहरीको टोलीले स्कटिङ गरेर गाडी सञ्चालनमा ल्याएको थाहा पाएपछि अवरुद्ध गर्ने प्रयास गरेको हुन सक्ने प्रहरीले बताएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरु नेकपा–माओवादीका कार्यकर्ता हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

छोरीसहित शिक्षिका पक्राउ

यसैबीच चुनाव विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले इलाम चमैता–२ की एक शिक्षिकालाई उनकी छोरीसहित पक्राउ गरेको छ । चुनाव विरोधी गतिविधिमा संलग्न रहेको भन्दै कमलदेवी प्राविकी शिक्षिका देवीमाया घिमिरेलाई पाँच वर्षीया छोरी प्रेक्षासहित सोमबार राति १ बजे घरबाटै पक्राउ गरेको हो ।

पक्राउ परेकी शिक्षिका घिमिरेलाई छोरीसहित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीनायब उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए । शिक्षिका घिमिरेलाई प्रहरीले बिनाकारण पक्राउ गरेको भन्दै आफन्तले तत्काल उनीको रिहाइको माग गरेका छन् ।

चुनाव विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले घिमिरेसहित अहिलेसम्म मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान् राज्य परिषद्का छ र नेकपा–माओवादीका नौ जनालाई पक्राउ गरी सार्वजनिक मुद्दा दायर गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us